काठमाडौं, २४ असोज । सरकारले तेस्रो लिंगीको पहिचान खुल्ने गरी मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) जारी गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले राहदानी नियमावली, २०६७ संशोधन गर्दै महिला तथा पुरुषको अलावा तेस्रो लिंगीको पनि लैंगिक पहिचान खुल्ने गरी राहदानी जारी गर्ने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै अब तेस्रो लिंगीले महिला तथा पुरुषमध्ये एकको परिचय नभई तेस्रो लिंगीको पहिचान खुलेको राहदानी पाउनेछन्। ‘अदालतको आदेश र मानवअधिकारको सम्मान गर्दै तेस्रो लिंगीलाई उनीहरूको छुट्टै लैंगिक पहिचान खुल्ने गरी राहदानी उपलब्ध गराउन राहदानी नियमावली संशोधन गरिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले भने।
नागरिकताका आधारमा राहदानी जारी गरिने हुँदा नागरिकता प्रमाणपत्रमै तेस्रो लिंगी खुलाइएको भए मात्र राहदानीमा पनि तेस्रो लिंगीको पहिचान खुलाइने संशोधन गरिएको नियमावलीमा उल्लेख रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ। नियमावलीअनुसार नागरिकतामा जे उल्लेख गरिएको छ, त्यही पहिचान दिइनेछ।















प्रतिक्रिया