काठमाडौं, २४ असोज । ‘तपाईं नेपाली फिल्म हेर्न कत्तिको इच्छुक हुनुहुन्छरु’ सायद प्रश्न हाँस्यास्पद पनि थियो । भारतीय अभिनेता आमिर खानले पनि हाँसो थाम्न सकेनन्,हाँसे।
आमिरलाई युनिसेफको दक्षिण एसियाली सद्भावना दूत घोषणाका लागि आयोजित औपचारिक कार्यक्रममा उपस्थितलाई पनि विषयान्तर गरेको उक्त प्रश्नले हँसायो।
पत्रकारको प्रश्नको जवाफ फर्काउनु अगाडि नै झन्डै दस मिनेट प्रजनन र शिशु स्याहारका मुद्दामा आफ्नो मन्तव्य दिइसकेका आमिरले भने उक्त फिल्मी सवाललाई भने हाँसोमा उडाएनन्।
बरु केही समालिए, अनि कूटनीतिक जवाफ फर्काए, ‘मैले बलिउड र हलिउडकै फिल्म पनि खासै हेरेको छैन। मन नपरेर चाहिँ होइन। अधिकांश खाली समय मेरो पुस्तक पढेरै बित्छ।’ समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
फेरि सोधियो, ‘नेपाली फिल्म खेल्ने प्रस्ताव आएमा ? ’झुस्स दाह्री, नमिलेका कपाल अनि टिसर्ट जिन्समा अनौपचारिक शैलीमा उपस्थित आमिर फेरि बोले, ‘मलाई नेपाली फिल्म हेर्ने पनि इच्छा छ। नखेल्ने भन्ने पनि हुँदैन। खेल्छु तर भाषागत सहजता भने हुनुपर्छ। यदि भाषामा नै पकड नभए खेल्न गाह्रो हुन्छ। नत्र म अफ्रिका, इन्डिया जहाँको भए पनि खेल्छु । कुन ठाउँको फिल्म भन्ने हुँदैन । मानवताको नाताले कथाले छोयो भने खेल्न तयार छु ।’















प्रतिक्रिया