लमजुङ, २८ वैशाख । लमजुङको वेशींसहर नगरपालिकामा कांग्रेस र माओवादी केन्द्र परित्याग गरी २५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वेशींसहर नगरपालिकाको वडा नम्बर ११ स्थित चिती गाविसमा आज आयोजित चुनावी सभामा कांग्रेस र माओवादीको विभिन्न भुमिकामा रहेका २५ जना एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा चितीका गणेश अधिकारी, विनोद सेडाई, फुर्वा तामाङ, पुष्प मगर, अर्जुन परियार, मनोज तिवारी, विकास श्रेष्ठ, गोपाल श्रेष्ठ, बुद्धिमाया मिजार, कृष्ण नेृपाली, सोभिता दुलाल लगायत रहेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारी, एमाले लमजुङका नेताहरु फुलबहादुर थापा, राजकुमार विष्ट, वडा अध्यक्षका उम्मेदवार अच्युतबाबु बगाले र युवा नेता शिव जोशी लगायतले खादा र अविर लगाएर पार्टी प्रवेश गराए ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य अधिकारीले वेशींसहर नगरपालिकासहित जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । एमाले र माओवादी केन्द्रको तालमेल रहेका कारण अन्य पार्टी (कांग्रेस) एमालेसँग अत्तालिएको उहाँले बताउनुभयो ।
वेशीसहर नगरपालिकाका मेयरका उम्मेदवार गुमानसिंह अर्याल र उपमेयर लक्ष्मी अधिकारीले आफूहरुको जित सुनिश्चित रहेको भन्दै ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गरे ।
















प्रतिक्रिया