काठमाडौं, २७ वैशाख । नेकपा एमालेले चुनावी अभियानमा खटिएका आफ्ना युवा कायकर्तामाथि माओवादी केन्द्रबाट भएको आक्रमण र हत्याको निन्दा गरेको छ ।
मंगलबार राति साढे ८ बजे दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रको आक्रमणबाट एमालेका सक्रिय युवा कुलबहादुर तामाङको मृत्यु भएको थियो । जसलाई एमालेले हत्या भनेको छ ।
‘स्थानीय निर्वाचनको सिलसिलामा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा हिजो २०७४ वैशाख २६ गते राती ८ः३० बजे माओवादी केन्द्रको अपराधिक जत्थाको सांघातिक आक्रमणमा नेकपा (एमाले)का सक्रिय युवा कुलबहादुर तामाङको दुःखद् निधन भएकामा पार्टी स्तब्ध भएको छ,’ सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस घटनाले सत्तासंरक्षित हिंसा, आतंक र अपराधपूर्ण क्रियाकलापलाई उजागर गरेको छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।’
एमालेका अनुसार गौरीशंकर–१ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङसहितले जुँगुस्थित निलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी तर्फका पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको अपराधिक जत्थाले आक्रमण गरेको थियो । करिब १७ राउन्ड फायरिङ गरि कुबहादुरको हत्या गरेको एमालेको आरोप छ । उक्त घटनामा पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गरिंदा गम्भीर घाइते भएको र उनको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको एमालेले जनाएको छ ।
घटनामा संलग्नलाई तुरुन्त गिरफ्तार गर्न सरकारसँग माग
यसैबीच एमालेले घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारवाही चलाउन माग गरेको छ । ‘हाम्रो पार्टी घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारवाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै एमालेले पार्टीलाई विजयी बनाउने अभियानमा जुट्दाजुट्दै जीवन आहुति दिने कुलबहादुर तामाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । र, घटनामा घाइते दिलबहादुर बुढाथोकीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
















प्रतिक्रिया