८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीसहित कांग्रेस, एमाले, माओवादी र गठबन्धनको बैठक जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस, एमाले र संघीय गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा एमालेका नेताहरूलाई पनि बोलाइएको हो । वार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चा र गठबन्धनसँग भएको सहमति कार्यान्वयन, सरकारको धारणालगायतका विषयमा छलफल हुनेछ ।

संविधान संशोधनको माग गर्दै आएको मधेसी मोर्चा र संघीय गठबन्धनले माग पूरा हुने अवस्था नआए आन्दोलनको घोषणा गरेर अगाडि बढ्ने चेतावनी दिइसकेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले सरकारले लामो समयदेखि मधेसी मोर्चा र संघीय गठबन्धनलाई गुमराहमा राख्दै आएको बताए । ‘प्रधानमन्त्रीसहितका प्रमुख दल र संघीय गठबन्धनका शीर्ष नेताहरूबीच वार्ता हुन्छ । सरकारको धारणा माग गर्नु हुन्छ’, उनले भने, ‘चित्त बुझ्दो जवाफ आएन भने आन्दोलनमा जानुको विकल्प छैन ।’

प्रधानमन्त्री दाहालसँगको आजको बैठकको निष्कर्ष अनुसार महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले भावी योजना बनाउने तयारी गरेको छ ।

वार्तामा प्रधानमन्त्री दाहालका साथै कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय गठबन्धनका नेताहरूको सहभागिता रहेको छ ।