काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संघीय गठबन्धनका नेताहरूले भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे हुने भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी मोर्चा र गठबन्धनसँग भएको सहमति कार्यान्वयन, सरकारको धारणालगायतका विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।
संविधान संशोधनको माग गर्दै आएको मधेसी मोर्चा र संघीय गठबन्धनले माग पूरा हुने अवस्था नआए आन्दोलनको घोषणा गरेर अगाडि बढ्ने चेतावनी दिइसकेको छ ।
स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका विषयमा सरकारको धारणा बुझ्ने नेता यादवले बताए ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झाले सरकारले लामो समयदेखि मधेसी मोर्चा र संघीय गठबन्धनलाई गुमराहमा राख्दै आएको बताए ।
‘प्रधानमन्त्रीज्यू र संघीय गठबन्धनका शीर्ष नेताहरूबीच वार्ता हुन्छ । सरकारको धारणा माग गर्नु हुन्छ’, उनले भने, ‘चित्त बुझ्दो जवाफ आएन भने आन्दोलनमा जानुको विकल्प छैन ।’
प्रधानमन्त्री दाहालसँगको आजको बैठकको निष्कर्ष अनुसार महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले भावी योजना बनाउने तयारी गरेको छ ।











प्रतिक्रिया