काठमाडौं, २५ वैशाख । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा उपत्यकाको नेवार समुदायका सुपरिचित नेता सानुराजा शाक्य एमालेमा प्रवेश गरेका छन् ।
एमालेका काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यको सोमबार बिहान सुरु भएको बृहत् घरदैलो कार्यक्रमको लगनबाट आरम्भ गर्ने कार्यक्रममा नेता शाक्य एमालेमा फर्केका हुन् ।
लामो समय एमालेमै रहेर राजनीति गर्नुभएका काठमाडौं महानगरपालिका वडा नम्बर २१ का बासिन्दा शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाई पार्टी प्रवेश गराए ।
करिब चार वर्षअघि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागेका शाक्य हाल संघीय समाजवादी फोरममा थिए । लोकप्रिय युवा नेता शाक्य संघीय समाजवादी फोरमबाट महानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्ने चर्चामा थिए ।
बिहान लगनमा आयोजित कार्यक्रममा नेता शाक्यले एमालेमा आफ्नो हक रहेको बताउँदै बिनासर्त एमालेमा फर्केको बताए । काठमाडौं महानगरपालिकाको प्रमुखमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएपछि अब एमालेसँग आफ्नो कुनै गुनासो नभएको उनले बताए ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले शाक्यलाई एमालेको निर्वाचन चिह्न सूर्यको झन्डा हस्तान्तरण गरी निर्वाचनमा एमालेको विजयका लागि प्रचारमा लाग्न आग्रह गरे ।
अध्यक्ष ओलीले महानगरको निर्माण र नवनिर्माणका लागि विगतमा वडाध्यक्ष निर्वाचित भई अनुभव हासिल गरिसकेका विद्यासुन्दर शाक्यलाई एमालेले उम्मेदवार बनाएकाले उनलाई जिताउने अभियानमा अन्य दलमा रहेका नेता कार्यकर्तालाई समेत लाग्न र एमालेमा आउन आह्वान गरे ।
आफू घर फर्केको बताउन चाहने सानुराजा शाक्यले अब विद्यासुन्दर र देशभरका एमाले उम्मेदवार लागि निर्वाचनमा विजयी बनाउने अभियानमा लाग्ने बताए ।












प्रतिक्रिया