८ मंसिर २०८३, मंगलबार

सभामुख माओवादी प्रवक्ता बनेको एमालेको आरोप, चुप लागेर नबस्ने चेतावनी

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख आनेसरी घर्ती माओवादी केन्द्रको प्रवक्ता बनेको आरोप लगाएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रकरणमा सभामुख घर्तीको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले प्रवक्ताको आरोप लगाएको हो ।

सोमबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व सभामुख एवम् नेकपा एमालेका उपनेता सुवास नेम्वाङले विपक्षीहरुको आपत्ति रहँदा रहँदै सभामुखले कुनै पार्टीको प्रवक्ता जस्तो भएर संविधान संसोधनसहित विवादित प्रस्तावहरु अगाडि बढाउने कामले सभामुखको भूमिका माथि नै प्रश्न खडा गरेको भन्दै यस्तै शैली कायम रहे एमाले चुप लागेर नबस्ने स्पष्ट पारे ।

‘सभामुख घर्तिको भूमिका संसदको सभामुखको भन्दा पनि माओवादी केन्द्रको पार्टीको प्रवक्ताको जस्तो छ,’ उनले भने– ‘यस्तै अवस्था कायम रहे त्यसको उपाय खोज्न हामी बाध्य हुनेछौं ।’

एमाले उपाध्यक्ष भीम रावलले पनि सभामुख पार्टीको प्रवक्ता जस्तो भएर विपक्षीलाई पेल्ने शैलीमा अघि बढेको आरोप लगाउँदै यस्तो शैली कायमै रहे एमालेले त्यसका विरुद्ध सबै उपाय अवलम्बन गर्न तयार रहेको बताए । ‘अहिले हामीले महाअभियोगको बारेमा सोचेका छैनौं,’ उनले भने– ‘तर सभामुखको रबैया यस्तै रहे एक्सन लिन्छौं ।’