काठमाडौं, २१ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले वैशाख ३१ को निर्वाचनमा आफ्नो दल नेकपा एमालेलाई जिताउने उद्घोष गरेका छन् ।
अहिलेको निर्वाचनमा पार्टीले आफूलाई पन्छाएर काठमाडौंको मेयर पदका लागि विद्यासुन्दर शाक्यलाई टिकट दिएकोमा स्थापित असन्तुष्ट हुँदै कांग्रेस उम्मेदवारतर्फ लागेको खबरहरु आइरहेका बेला उनले यसको खण्डन गरेका हुन् ।
उनले आफू विस्थापित भएपछि काठमाडौं महानगरमा एमालेलाई स्थापित गरेर छाड्ने उद्घोष पनि गरे । ‘विद्यासुन्दर भनेको काम गर्ने मान्छे हो । आज उहाँलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउनु काठमाडौंका जनताको अनिवार्य दायित्व बनेको छ,’ स्थापितले भने– ‘उहाँलाई जित्ने स्थिति बनाउनका लागि म दिलो ज्यानका साथ लागि पर्नेछु । कुनै कसर बाँकी नराखी, म आफैँ उम्मेदवार भएको ठानेर म चुनावी मोर्चामा छु ।’
विद्यासुन्दर शाक्यलाई जिताउनु महानगरवासीको अनिवार्य दायित्व हो भन्दै उनले अगाडि भने– ‘काठमाडौंका ३५ जना वडाध्यक्षमध्ये विद्यासुन्दर त्यस्तो वडाध्यक्ष हुनुहुन्थ्यो, जोसँग जनताका काम गर्ने दृढ इच्छाशक्ति थियो । त्यस्तो इच्छाशक्ति उहाँमा अझै पनि छ । त्यसैले अब कोही नयाँ मान्छे आउला र गरिदेला भनेर आश गर्ने होइन, हिजो काम गरेर आफूलाई जनताका बीचमा प्रमाणित गरिसकेको विद्यासुन्दर शाक्यलाई जिताउनु महानगरवासीको अनिवार्य दायित्व हो ।’
विद्यासुन्दरले आफूभन्दा पनि राम्रो काम गर्ने उनको दाबी छ । ‘०५४ मा म मेयर भएर जाँदा विद्यालाई मैले पनि त्यति धेरै पत्याएको थिइनँ । तर, केही कामहरु गर्दै जाने क्रममा म आफैँ चकित खाने गरी उहाँले आफूलाई प्रमाणित गर्नुभयो,’ उनले भने– ‘अब उहाँले काठमाडौंका सारा जनताले चकित खाने गरी काम गर्नुहुन्छ, त्यसैले उहाँलाई मेयरमा जिताउनै पर्छ ।’











प्रतिक्रिया