काठमाडौं, २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता भएपछि त्यसमाथि असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्रीको पदबाट दिएको राजीनामा बिमलेन्द्र निधिले फिर्ता लिएका छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएपछि उनी पार्टीका उच्च नेताहरुको सम्पर्कमा पनि आउन चाहेका थिएनन् । उनले महाअभियोगलाई कारण देखाए पनि पार्टी नेतृत्व र सरकारले आफूलाई सोध्दै नसोधी प्रहरी प्रमुख नियुक्त गरेको प्रति पनि चित्त दुःखाउँदै आएको स्रोतको दावी छ ।
साउदले फकाए निधिलाई
राजीनामा दिएर पार्टी सभापति र अन्य नेताको पनि सम्पर्कमा आउन नचाहेका निधिलाई पूर्वमन्त्री तथा काँग्रेस नेता एनपी साउँदले बुधबार विहान १० बजे मन्त्री निवाशमै गएर भेटेका थिए । साउँद र निधिबीच करिब डेढ घन्टा छलफल भएपछि साउँदले नै टेलिफोनमार्फत पार्टी सभापति शेरबहादुर देउवासँग वार्ता गराएका थिए ।
सभापति देउवाका विश्वासपात्र मानिने नेता साउँदले निधिलाई सभापतिसँग कुरा गराएपछि उनी प्रत्यक्ष रुपमा सभापतिसँग कुरा गर्न सहमत भएको साउद निकट स्रोतले बतायो । त्यसपछि बुधबार बेलुकी ५ बजेदेखि ६ बजेसम्म सानेपामा सभापति देउवा र निधिबीच वान टु वान वार्ता भएको थियो । देउवाले निर्वाचनको १० दिन अगाडि अर्को गृहमन्त्री ल्याउँदा कसैलाई पनि फाइदा नहुने बताएपछि उनी राजीनामा फिर्ता लिन राजी भएको बताइएको थियो ।
निधिलाई राजीनामा फिर्ता लिएर मन्त्रालय सम्हाल्न प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आग्रह गरेका थिए । त्यसपछि बिहीबार बिहान देउवा, दाहाल र निधिबीच भएको छलफलपछि उनी राजीनामा फिर्ता लिन तयार भएका हुन् ।
निधिले राजीनामा फिर्ता लिएपछि महाअभियोगको विषयलाई लिएर प्रतिपक्षी र अन्य क्षेत्रबाट पार्टीमाथि भएको आक्रमण केही कम हुने काँग्रेसीहरुको अनुमान छ । राजीनामा फिर्ता लिएका गृहमन्त्री निधि आजै जनकपुरमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने कार्यक्रम छ ।











प्रतिक्रिया