काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादी र तराई–मधेसकेन्द्रित दलहरूले संविधानसभा चुनावमा गरेको सार्वजनिक प्रतिबद्धताविपरीत संविधानका विवादित विषय सहमतिबाटै टुंगो लगाउनुपर्ने अडान राख्दै आन्दोलन घोषणा गरेका छन्।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले विवादित विषयमा सहमति नजुटाई प्रक्रिया (मतदान) मा जान खोजेको भन्दै एमाओवादी, तराई–मधेसकेन्द्रित दलले सोमबार आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन्। बहुमत ल्याउने विश्वाससाथ सहमति नभए प्रक्रियामा गएर पनि संविधान जारी गर्ने लिखित प्रतिबद्धता जनाएका ती दल संविधानसभामा ‘अप्रत्याशितु पराजय भोगेपछि प्रक्रियाविरुद्ध उभिएका हुन्।
आन्दोलनको नेतृत्वकर्ता दल एमाओवादीले चुनावअघि विवादित विषयमा सहमति जुट्न नसके प्रक्रियामा गएर लोकतान्त्रिक विधिबाट वर्षदिनमै संविधान दिने ‘भीष्मप्रतिज्ञाु नै गरेको थियो।
‘हामी अहिले नै तपार्इंहरूसमक्ष प्रतिज्ञा गर्दछौं– नयाँ संविधानसभा गठन भएको ६ महिनाभित्र संविधानका बाँकी रहेका मुद्दामा राष्ट्रिय सहमति कायम गर्ने कोसिस गर्नेछौं,’ एमाओवादी चुनावी घोषणापत्रमा उल्लेख छ, ‘सहमति कायम हुन सकेन भने संविधानसभाको प्रक्रियामा लगेर लोकतान्त्रिक तरिकाले मुद्दाको टुंगो लगाउनेछौं र एक वर्षभित्र हामी तपाईंलाई नयाँ संविधान दिनेछौं। यो हाम्रो भीष्मप्रतिज्ञा हो।’ यो समचार आजको नागरिक दैनिकले छापेको छ ।
एमाओवादीले प्रक्रियामा नजाँदा पहिलो संविधानसभा नै विघटन हुन पुगेको उल्लेख गर्दै ‘सहमतिका नाममा अल्झनुु गलत भएको भन्दै प्रक्रियामा जानैपर्ने आवश्यकतामा जोड गरेको थियो।
‘हो, हामीले पहिलो संविधानसभाबाट संविधान बनउन सकेनौं, हामी हाम्रा कमजोरीका लागि तपाईंहरूबाट क्षमा चाहन्छौँ,’ प्रक्रियाको आवश्यकताबारे चुनावी घोषणापत्रमा उल्लेख छ, ‘भनिन्छ, गल्ती गर्नु अपराध होइन, गल्तीबाट पाठ सिक्नु अपराध हो, हामीले हाम्रा गल्तीबाट पाठ सिकेका छौं।’















प्रतिक्रिया