काठमाडौं, १९ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी टुटफुटको संघारमा पुगेको छ ।
राप्रपालाई फुटाउनका लागि असन्तुष्ट समूहले कानून व्यवसायीहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ । उनीहरूले पार्टी विभाजन गर्दा कानूनमा के–के विषय उल्लेख छ र कुनै समस्या आउँछ कि आउँदैन भनेर परामर्श गरेका हुन् ।
डा.प्रकाशचन्द्र लोहोनी समूहले राप्रपाका असन्तुष्ट सांसदहरूलाई आफूतिर लैजान ठूलो प्रयास गरिरहेको स्रोतको भनाइ छ ।
महाअभियोगको विषयलाई लिएर कमल थापाले सरकारबाट बाहिरिने निर्णय गरे पनि तत्काल पार्टी विभाजनको संकट भने टरिसकेको छैन । अन्तुष्ट समूहका एक सांसदले भने, ‘कमल थापालाई सानो भए पनि झट्का दिन सकेका छौँ । उनको निरंकुश शैलिको पार्टीभित्र सबैले विरोध गरिरहेका छन् । महाअभियोगलाई देखाएर पार्टी विभाजन रोक्ने प्राविधिक प्रयास भएको छ । यसको कुनै अर्थ छैन ।’
राप्रपाका सांसदमा रामकुमार सुव्वा, गीता सिंह, कान्ता भट्टराई, सीता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मीदेवी श्रेष्ठ, विराजबहादुर विष्ट, बबिना मोक्तान लावती, राजेश्वरी देवी, कमलादेवी शर्मा र रमेशबहादुर लामाले पार्टी फुटाउने तयारी गरेका हुन् ।
राप्रपा अध्यक्ष कमल थापाको निरंकुश कार्यशैलीको विरोधमा देखिएका दश र बाहिर खुल्न नचाहेका अरु पाँच जना सांसदहरू गरी १५ जना सांसदले पार्टी छाड्ने तयारी गरेको स्रोतको भनाइ छ ।











प्रतिक्रिया