काठमाडौं, १८ वैशाख । प्रमुख विपक्षी दल एमालेले भरतपुर र पोखरा महानगरपालिकाको उम्मेदवार भने टुंगो लगाएको छ ।
काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा सोमबार बसेको स्थायी समितिले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा मानबहादुर जि.सी. र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।
भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दीब्या आचार्यले टिकट पाएका छन् ।
हेटौँडा उपमहानगरपालिकको प्रमुखमा हरिबहादुर महतलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । उपमेयरमा मीना लामा र जुनेली श्रेष्ठको नाम चर्चामा छ ।
काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख तथा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखको विषयमा भने मंगलबार टुंगो लगाइनेछ ।
स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा केशव स्थापितको नामले प्रवेश पाएको छ । स्थापितको नामलाई शंकर पोखरेलले प्रस्ताव गरेका थिए ।
पोखरेलको नामलाई बामदेव गौतमले समर्थन गरेको स्रोतको भनाइ छ । स्थापितप्रति एमाले नेतृत्वले खासै रुचि देखाएको छैन । स्थापितले दोस्रो संविधान सभा निर्वाचनमा संघीय समाजवादी पार्टीबाट क्षेत्र नम्बर छ बाट उम्मेदवार बनेर एमालेका उम्मेदवार योगेश भट्टराईलाई पराजित गरेका थिए ।
काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम यसअघि सिफारिस भइसकेको छ ।
उता, ललितपुर महानगरपालिकाको मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र ज्ञानेन्द्र शाक्यको नाममा स्थायी समितिमा सहमति जुट्न सकेन । सहमति किन नजुटेको एमालेका नेताहरूले केही बताएका छैनन् । ज्ञानेन्द्र शाक्य एमाले अध्यक्ष केपी ओलीका साला हुन् ।











प्रतिक्रिया