
काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने कांग्रेस–माओवादीको कदममा आपत्ति जनाएको छ ।
अध्यक्ष राजीव पहारीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्वाचन गर्नुपर्ने बेला महाअभियोगको प्रस्ताव ल्याएर कांग्रेस एमाले चुनाव भाड्ने षडयन्त्रमा लागेको आरोप समेत लगाएका छन् ।
प्रधानन्यायाधीशमाथिको महाअभियोगले अधिनायकवादको उजागर गर्ने संकेत देखिएको भन्दै संघले सरकारको यो कदमको घोर भत्सर्ना गरेको छ । ‘निर्वाचनको माहोललाई विगार्ने र सरकारले गरेका जस्ता सुकै कदम नमानेमा जे पनि गर्न सक्छ भन्ने संकेत महाअभियोगले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘युवा संघ नेपाल सरकारको यस कदमको घोर भत्सर्ना गर्दछ ।’
संघले महाअभियोगलाई स्वेच्छारी कदम भन्दै यसको विरुद्धमा उत्रिन सम्पूर्ण लोकतन्त्रवादी दल, जनता, युवा विद्यार्थी लगायत संगठित रुपमा विरोधमा उत्रिन आह्वान समेत गरेको छ ।
‘यो कदम अधिनायकवादको पूर्व अभ्यास हो । यस्ता कदम नसच्याएमा संघ चरणबद्ध रुपमा विरोधका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिनेछ,’ संघले चेतावनी दिँदै भनेको छ– ‘सामन्तवादको विरुद्धमा लडेका हामी युवा नयाँ व्यवस्थाका अधिनायकवादी शासकको विरुद्धमा लड्न तयार छौं ।’












प्रतिक्रिया