क्यानडा । गजलकार ॠषि बस्ताकोटीको एल्बम गजल स्पर्श विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानाडाको क्याल्गेरी शहरमा विमोचन गरियो ।
क्याल्गेरीस्थित स्प्रिङ्ग वूड् सामुदायिक भवनको सभाकक्षमा आयोजित समारोहमा हाल क्यानाडा भ्रमणमा रहनुभएका बारिस्ठ समालोचक निनु चापागाइले एल्बम गजल स्पर्शको विमोचन गर्नुभयो । विमोचन मन्तव्यको क्रममा उहाँले ‘गजल स्पर्श’ भित्र सुन्दर र कर्णप्रिय गजलहरू रहेकोले यसले श्रोताहरूको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एल्बममा सङ्रहित गजलहरू अत्यन्त सुन्दर र मर्मस्पर्शी रहेको, झन त्यसमा उपयुक्त संगीत र लोकप्रिय गायकगायिकाहरूको स्वरले अझ श्रुतिमिठास भरिएको बताउनुभयो । करिव दुई दशक पहिलेदेखि साहित्यिक कर्ममा लागेका बस्ताकोटी सामाजिक चेत भएका साहित्यिक व्यक्तिको रुपमा आफुले पाएको र उनको व्यक्तित्व र कृतित्वका वीच तालमेल भेटेकोले आफु बस्ताकोटीबाट प्रभावित भएको समालोचक चापागाइले बताउनुभयो ।
विमोचन समारोहमा क्याल्गेरी नेपाली सामुदायिक संस्थाका अध्यक्ष प्रेमचन्द्र गुरुङ्ले आफ्नो संस्थाले विजयादशमीको पवित्र समयमा यो एल्बम बिमोचन कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले एल्बमको सफलताको कामना गर्दै उपस्थित महानुभावहरूलाई एक एकप्रति एल्बम किनेर सुनिदिन र गजलकार बस्ताकोटीको सामाजिक अभियानमा पनि टेवा पुर्याइदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा गजलकार बस्ताकोटीले एल्बमको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम नेपालको ग्रामीण भेकका आर्थिक्(सामाजिक रुपमा पछी परेका बालबालिकाहरूको शिक्षामा पहुच बढाउनको लागि खर्च गरिने जानकारी दिनुभयो ।
एल्बममा ॠषि बस्ताकोटीको एकल शव्द र गैरे सुरेशको एकल संगीत रहेको छ भने नेपालका चर्चित गायक गायिकाहरूको स्वर रहेको छ । चेरी फुल्दा परदेशमा (निशा देशार), ओखती छ तनको बिरामीलाई (मनोजराज:, दुःखमा जो साथी हुन्छ (दीपक लिम्बु र सुजाता उप्रेती), आयौ तिमी एकान्तमा (रीमा गुरुङ), तिम्रो दुःख मेरो दुःख (सत्यराज आचार्य र आकंक्ष्य बस्यालको युगल स्वर) एल्बमभित्र समेटिएका छन् ।
विमोचनको समयमा एल्बम बिक्रिबाट तीन सय क्यानेडियन डलर (नेपाली रुपैया छब्बिस हजार दुई सय) उठेको र सो रकमबाट चितवनको सिद्धी गाबिस लोतन्तीस्थित प्राथमिक विद्यलयमा अध्ययन गर्ने विपन्न चेपाङ बाल बालिकाहरूलाई विद्यालयमा खाजा खुवाउनको लागि सहयोग स्वरुप प्रदान गरिने बताइएको छ ।














प्रतिक्रिया