२९ आश्विन २०८३, बिहिबार

लण्डनमा देउवाको दिवाभोजमा पनि एनआरएनको झगडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher_Bahadur_Deubaलण्डन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उनकी पत्नी सभासद डा आरजु देउवाको सम्मानमा लण्डनस्थित नेपाली दुतावासमा एक दिवाभोज आयोजना गरिएको छ ।

शनिबार आयोजित दिवाभोज कार्यक्रममा बेलायतको नेपाली समुदायका अगुवा दुई दर्जन व्यक्तित्वहरुको सहभागिता थियो । निर्धारित भन्दा करिब दुई घण्टा ढिलो गरी सुरु भएको कार्यक्रममा दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै बेलायतको नेपाली समुदायसंग समबन्धित विभिन्न विषयमा छलफल पनि भएको थियो ।

त्यसक्रममा एनआरएन युकेका अध्यक्ष महेन्द्र कण्डेलले समुन्द्रपारी छरिएर रहेका दश लाख बढी नेपालीहरुबीच आइपर्ने समस्यालाईे सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको थप प्रभावकारी प्रभावकारी भुमिकाको आवश्यकता दिनप्रतिदिन बढदै गएको बताउनुभयो । त्यसका लागि आवश्यक संयन्त्र र निकायहरुको विकास गरेमात्रै आफना नागरिकहरुप्रति थप संवेदनशिल वातावरणको निर्माण हुन सक्ने अध्यक्ष कण्डेलले सुझाव दिनुभयो ।

त्यस्तै एनआरएन युकेका सह अध्यक्ष योगेन क्षेत्रीले आफनो १ सालको कार्यकारी कार्यकाल पूरा भएपनि आफनो इच्छाबिना कण्डेलले जबरजस्ती गरेको आफनै कार्यकारी नेतृत्वको घोषणा विधानविपरित भएको गुनासो गर्नुभएको थियो । जवाफमा देउवाले आफू त्यसबारे अनभिज्ञ रहेको र आफुसंग सम्बन्धित विषय पनि नभएको ठोस जवाफबिना नै पन्छिनुभएको थियो ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिंखडाले देशमा जारीे संविधान निर्माणको प्रक्रिया समयमै टुंगिने सम्भावना, एनआरएनलार्इ दिने भनिएको दोहोरो नागरिकता र उनीहरुको मतदान गर्न पाउने अधिकार लगायतका विषयमा जिज्ञासा राख्नुभयो ।

नेपलीज महिला एशोसिएसन युकेकी अध्यक्ष आरती श्रेष्ठले गलत ठाउंमा गलत विषय उठाउन उचित नहुने र यसले नेपालका राजनीतिक दलका नेताहरुलाई गलत सन्देश जाने विचार व्यक्त गर्नुभयो । एनआरएन सहअध्यक्ष योगेन श्रेत्रीलाई लक्षित गर्दै उहांले त्यस्ता विषय उठाउनका लागि सो कार्यक्रम गलत ठाउं भउको प्रस्ट पार्नुभएको थियो ।

सहभागीका जिज्ञासाहरुमा जवाफ दिने क्रममा नेता देउवाले समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो । संघियताबाहेकका सबै विषयमा सहमति भइसकेको भन्दै उहांले संविधान बन्नेमा दुई मत नै नरहेको बताउनुभयो । एनआरएनलाई विशेष नागरिकता दिने सहमतिमा राजनीतिक अधिकार नरहने देउवाले प्रष्ट पार्नुभयो । बेलायत र नेपाल दुवै देशको नागरिकता लिएको व्यक्तिले कुनै राजनीतिक पद ग्रहण गर्दा उसको लगाव कुन देशप्रति बढी हुने भन्ने प्रश्न गर्दै उहांले राजीतिक अधिकारसहितको दोहोरो नागरिकताको विषय जटिल रहेको बताउनुभयो ।

कार्यक्रममा देउवा पत्नी तथा सभासद डा आरजु देउवाले आफु संविधान मस्यौदा समितिको सदस्य भएको बताउंदै संविधान समयमै बन्ने दाबी गर्नुभयो । उहांले प्रवासी नेपालीको दोहोरो नागरिकताको हकमा राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रधानन्याधिश तथा संघिय राज्य प्रमुख जस्ता महत्वपूर्ण राजनीतिक पदबाहेकका अधिकारको प्रत्याभुतिका पक्षमा आफु रहेको बताउनुभयो ।

दिवाभोजमा एनआरएन आईसीसीका विश्वआदर्श पण्डित, कुल आचार्य, समाजसेवी डा राघव धिताल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

त्यस अवसरमा कार्यवाहक राजदुत तेजबहादुर क्षेत्रीले कार्यक्रममा उपस्थित देउवा दम्पति तथा अतिथीलाई स्वागत गर्नुभएको थियो भने एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठी, कोषाध्यक्ष ठाकुर शर्मा लगायतले देउवासंग विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा गायिका सितु खरेलले शुभकामना गीत सुनाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।