२९ आश्विन २०८३, बिहिबार

यस्तो भयो कोरियामा दशैं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manju-gurung

नेपालको राष्ट्रिय पर्व दशैको महत्व प्रदेशमा अझ बढी हुन्छ । विषेशगरी रोजगार, व्यवसाय र अध्ययनको शिलशिलामा विदेशमा लामो समयदेखि रहन बाध्य नेपालीहरु यो पर्वमा आफ्नो घर परिवारलाई सम्झन बाध्य हुन्छन् । अरु बेला काममा व्यस्त भएपनि यो बेला भने आमा, बुबा, परिवारका अन्य सदस्य र इष्टमित्रलाई सम्झेर पिरोलिन्छन् । त्यसैले ती सम्झनाले भावुक बनाएको मनलाई भुलाउन विदेशमा रहेका नेपालीहरु संगठित हुदै सामुहिक दशै मनाउने क्रम जारी छ ।

यसैक्रममा कोरियामा पनि रहेका नेपालीहरुले विभिन्न शहरको आ–आफ्नो पायक पर्ने ठाउँमा भेला भएर दशैको एक महत्वपूर्ण पक्ष रातो टिका र जमरा ग्रहण गर्दै दशै मनाएका छन् । कोरियामा अनुमानित २५ हजार भन्दा बढी नेपाली रहेको छ । जसमा विषेशगरी इपीएसमार्फत आएका नेपालीहरुको संख्या धेरै छ । त्यसैले काममा बढी व्यस्त हुने र लामो समय काममै खट्नु पर्ने धेरै नेपालीको बाध्यता छ ।

त्यसैले पनि कोरियामा रहेका धेरै जसो नेपालीहरुको दशैको मुख्य टिकाको दिन निधार खाली नै रह्यो । ठ्याक्कै टिकाको दिन शुक्रबार परेकोले प्रायः सबैजना रातिसम्म काममा व्यस्त हुनुपर्ने बाध्यता थियो । त्यसैले पनि धेरैजसोले फेसबुकको भित्तामा आफ्नो भावना पोखे र स्काइपमार्फत परिवारको अनुहार हेर्दै मौखिक टीकाको भरमा चित्त बुझाए । सँगै काम गर्ने नेपालीहरु भने काम सकेर फर्केपछि माध्यरातमा भेला भएर खानपिन गर्दै एक अर्काको पीडामा मलहम लगाउन सफल भए ।

तर, सुवनस्थित स्वयम्भू रेष्टुरेन्टमा भने सोही दिन विषेश गरी कोरियनसँग विवाह गरी आएका नेपाली चेलीहरुलगायत सबै नेपालीहरुलाई आमन्त्रण गरी दशै मनाइएको थियो । रेष्टुरेन्टका प्रोपराइटर बुद्धी गुरुङबाट अभिभावकत्व पाउँदै आएका सबैलाई टिका र जमरा लगाइदिउका थिए । सोही अवसरमा उपस्थित भएका युरोपियनहरु र भारतीय मात्र हैन, नेपालबाट आएका चित्रकार र मूर्तिकारले पनि टिका ग्रहण गरे । नेपालीको यो संस्कारलाई सुवनको स्थानीय टेलिभिजनले छायाँकन पनि गरेको थियो ।

Dashian-South-korea

टीकाको तेस्रो दिन आइतबार बिदाको दिन नेपाली राजदूतवास र गैरआवासीय नेपाली संघ कोरियाको संयुक्त आयोजनामा सोलमा भब्य कार्यक्रम गरियो । सोही अवसरमा यसपाली पहिलोपटक स्थापना गरिएको राजदूत रनिङ शिल्ड कप फुटबल टुर्नामेन्ट गरिएको थियो । राजदूत कमानसिंह लामाले विभिन्न सघंसंस्थाका प्रतिनिधि, विद्यार्थी, महिला, कलाकार, व्यवसायीलगायत कार्यक्रममा उपस्थित इच्छुक सबैलाई टीका लगाइ आर्शिवाद दिएका थिए ।

सोही अवसरमा इन्छनमा सम्पन्न १७ औ एसियाली खेलकुदको अवलोकन गर्न आएका पाँच महिला सभासदलाई पनि राजदूत लामाले टिका लागइदिएका थिए । जसमा शारदा पौडेल, सुजता परियार, जयन्ती राई , रिता रावल र निशा शाह थिइन् । त्यसैबेला महिलाका लागि महिलाले सभासद सम्मान र एक मात्र खुट्टा भएकी गायिका समला राईलाई २ लाख कोरियन रुपैंयासहयोग र सम्मान गर्न पनि भ्याए । त्यसो त पर्वत प्रवासी मञ्च कोरियाको चिट्ठाको नतिजा पनि सार्वजनिक गर्ने मौका यसैबेला जुर्‍यो ।

स्थानिय खुनाखरी संगीतिक व्यण्ड र नेपालबाट आए गायक प्रकाश तिमिल्सिना र गायिका तोयाह्याङमा राईले पनि समारोहलाई संगीतमय बनाएका थिए । १८ टिम भिडेका फूटबल टुनामेन्टका प्रथम विजेता लमजुङ फुटबल क्लवले २५ लाख वन (कोरियन रुपैंया) र शिल्ड हात पार्‍यो भने दोस्रो हुने धरानले १० लाख र तेस्रो हुने कास्कीले ५ लाख वन हात पारेको थियो । खेलाडीहरुले मेडल र प्रमाणपत्र सोही दिन साँझ राजदूतको हातबाट थापेका थिए ।

त्यसो त आइतबार नै नेपालीहरुको बाहुल्यता रहेको फेन्तेक माइग्रेन्ट सेन्टरले पनि छुट्टै दशै कार्यक्रम मनायो भने आनसनको काठमाडौं रेष्टुरेन्टमा पनि दोङदुचन नेपाली समाजको नेतृत्वमा भेला भएर टिका लगाउदै दशैँ मनाए । इपीएस युथ नेपालले पनि सुवनको हिमालयन रेष्टुरेन्टमा दशै डान्स पार्टी भन्दै नाचगान गरेको थियो । उता कोरियाको विश्व प्रसिद्ध पर्यटकीय द्धिप जुजेमा पनि नेपालीहरुले सहजकर्ता सुभद्रा लिम्बूको सक्रियतामा विदेशी र कोरियालीहरुको समेत सहभागितामा दशै मनाए ।