३० आश्विन २०८३, शुक्रबार

कसले पाउने सुनको फाली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीय तहको निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ । दुई दशकपछि हुन लागेको यो चुनाव अत्यन्त महत्वपूर्ण छ । ०६२/०६३ सालको तुमुलकारी परिवर्तनपछि संविधानसभा मार्फत् निर्माण भएको संविधानको कार्यान्वयनको कोशेढुंगा बनेर आएको यो निर्वाचनप्रति जनताको असीम चासो हुनु अस्वभाविक होईन । साथै निर्वाचनमा कुन पार्टी वा कस्ता उम्मेद्वार छान्ने भन्ने बहस जनस्तरमा व्यापक बन्दै गएको छ । यो निर्वाचनमा राष्टव्यापी प्रमुख प्रतिस्प्रर्धामा रहेको नेकपा(एमाले)को पक्षमा चुनावी माहौल बन्दै गएको छ । यसो हुनुमा एमालेले विगतमा गरेका जनपक्षीय काम र भारतीय नाकाबन्दीको बेला एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले खेलेको भूमिका सबभन्दा महत्वपूर्ण छन् ।

क) क. मनमोहनको विरासत

क.मनमोहन अधिकारी नेतृत्वमा बनेको नेकपा(एमाले)को प्रथम नौ महिने सरकारले अगाडि सारेका “आफ्नो गाउँ आफैं बनाऔं” र सामाजिक सुरक्षा भत्ताजस्ता कार्यक्रमले यति धेरै लोकप्रियता प्राप्त गर्यो कि त्यस पछिका कुनै सरकारले पनि उक्त कार्यक्रमलाई हटाउन सकेनन् । एमालेलाई जनस्तरमा स्थापित गर्ने ती कार्यक्रमलाई अझ प्रभावकारी रुपले अगाडि बढाउन नेकपा(एमाले) कै नेतृत्व आवश्यक हुन्छ । संविधानले स्थानीय तहलाई मनग्य अधिकार दिएको सन्दर्भमा तृणमूल तहबाटै जनतालाई अधिकार सम्पन्न र सबल बनाउन यी अधिकारको सफल कार्यान्वयन गराउनु अहिलेको प्रमुख चुनौति हो । यो चुनौति आधारभूत तहमा मजबुत सांगठनिक सञ्जाल बनाएको एमालेले मात्र गर्न सक्छ ।

ख) भ्रष्टाचारमुक्त स्थानीय तह

गर्वका साथ भन्न सकिन्छ—नेकपा(एमाले) नेता कार्यकर्ता भ्रष्टाचारमा मुछिएका छैनन् । ०५४ सालको स्थानीय निर्वाचनमा विजयी भएका हजारौं एमाले नेता कार्यकर्ताले निष्कलङ्क भएरै जनताको सेवा गरेका थिए । त्यही अवधिमा बाटो घाटो, नहर पैनी, खानेपानी, विद्यालयलगायतका सुविधा जनताको धरदैलोमा पुर्याईयो । जनतालाई सचेत र संगठित बन्ने अवसर प्राप्त भयो । शदियौंदेखिको सामन्ती व्यवस्थाको जग भत्काउन समेत तत्कालीन स्थानीय नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । त्यसकारण आगामी दिनमा पनि समाजलाई अग्रगामी दिशातर्फ डोहोर्याउन र भ्रष्टाचारमुक्त र पारदर्शी स्थानीय तह बनाउन एमालेको नेतृत्व आवश्यक छ । फेरि अन्य प्रतिस्पर्धीलाई जनताले राम्ररी चिनेका छन् । नेपाली कांग्रेस जनतामा पटक पटक टेस्टेड भएको पार्टी हो । उसले शोषित पीडित जनताको पक्षमा, अग्रगमन र सामाजिक रुपान्तरणको पक्षमा काम गर्न नचाहेको प्रष्ट देख्न सकिन्छ । “शक्ति बन्दुकमा र पैसामा हुँदोरहेछ” भन्ने प्रचण्डका अनुयायीहरु हिजो बन्दुक जोहो गर्न हिड्थे, अहिले पैसाको जोहो गर्न तल्लीन देखिन्छन् । यो निर्वाचनमा उनीहरुलाई जिताउनु भनेको सोझै भ्रष्टाचारको लाइसेन्स प्रदान गर्नु हो ।

ग) निर्माण र आर्थिक समृद्धिको थालनी

अबको युग निर्माण र आर्थिक समृद्धिको युग हो । करिब छ दशक राजनीतिक अधिकारको लडाईंमा वित्यो । जनतालाई व्यवहारिक रुपमा अधिकार सम्पन्न बनाएर राष्ट निर्माणको महायज्ञमा होमिनु परेको छ । स्थानीय तहको निर्वाचनले यसको औपचारिक शुरुवात गर्नेछ । माओवादी विद्रोहले जनताले आफ्नो रगत पसिना खर्चेर बनाएका कैयन् भौतिक संरचना ध्वस्त बनाएको पृष्ठभूमि र ०७२ सालको विनासकारी भूकम्पले ल्याएको विनासको द्रुतमार्गबाट पुनर्निमाण गर्ने तागत केवल एमालेसंगमात्र छ ।

घ) संघीयताको मर्म

स्थानीय तहको पुनर्संरचनाले राज्यको पुनर्संरचनाको महत्वपूर्ण काम सम्पन्न भएको छ । तर केही अति मधेशवादी र अति जातिवादी समूहले यस कार्यको शुरुदेखि नै विरोध गर्दै आएका छन् । उपेन्द्र यादव सहितका केही मधेशवादी नेताहरु र बाबुराम भट्टराई, अशोक राई जस्ता जातिवादी नेताहरु स्थानीय तहको वर्तमान स्वरुप र तिनले प्राप्त गरेको संवैधानिक अधिकारप्रति सन्तुष्ट छैनन् । उनीहरु केन्द्र र स्थानीय तहको अधिकार प्रदेशमा खिच्न चाहन्छन् र प्रदेश कब्जा गरी केन्द्रसंग अन्त्यहीन तनाव गर्ने तानावाना बुन्दैछन् । त्यसकारण स्थानीय तहले प्राप्त गरेको यो ऐतिहासिक अधिकारको रक्षा र सिर्जनात्मक प्रयोग गर्न पनि असल पार्टीका असल नेता चुन्नु मतदाताको युगीन दायित्व हो ।

ङ) लोकतन्त्रको समावेशी अभ्यास

वर्तमान संविधानले स्थानीय तहको निर्वाचनमा महिला, दलित र विगतमा बहीस्करणमा परेका समुदायको अनिवार्य निर्वाचित हुने व्यवस्था गरेको छ । यस व्यवस्थाले नेपाली समाजको ईन्द्रेणी चरित्रको स्थानीय सत्तामा प्रतिविम्वित हुने निश्चित छ । यतिमात्र होईन, दुई दशकसम्म पार्टीका ठूला नेताले सधैं अवसर पाइरहने र साना नेताले सधैं उनीहरुको झोलामात्र बोकिरहने परिस्थितिको समेत अन्त्य गर्नेछ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विकास निर्माणको नेतृत् व गर्ने मनग्य अवसर पाउनेछन् । यसले विभिन्न पार्टीमा देखिने नेतातन्त्रको समेत अन्त्य हुने निश्चित छ ।

र, अन्त्यमा

एकपटक बैशाख जेठको उपाम्मे गर्मीमा अत्यन्त गह्रौं भारी बोकेर एउटा भरिया गढतीरमा खलखल पसिना चुहाउदै हिंडिरहेथ्यो । त्यो भरियाको पछिपछि मालिक छाता ओडेर सानसंग हिंडिरहेथ्यो । कैलासबाट त्यो दारुण दृष्य देखेर पार्वतीले महादेवलाई विन्ती गरिन् — तल हेर्नुस् त त्यो भरियालाई ठूलो अन्याय भयो, केही गर्नु पर्यो । महादेवले भरियाले तर्न लागेको पुलमा एक धार्नीको सुनको फाली तेस्र्याइदिए । भरियाले भन्यो—हेर्नुस् मालिक, यो पुल त म आँखा चिम्लेर तर्न सक्छु । उसले पुल आँखा चिम्लेर तर्यो र सुनको फाली साहुको हातमा पर्यो । यो प्रशंग यहाँ उल्लेख गर्नुको तात्पर्य केहो भने आसन्न निर्वाचनमा असल पार्टी र असल नेता छान्ने सवालमा मतदाताको विवेक पुग्न सकेन भने शोषित पीडित जनताको हातबाट सुनको फालीरुपी स्थानीय सत्ता गुम्न सक्छ । त्यसका लागि सबै एमालेजन, समर्थक र शुभचिन्तकको सचेत पहलको टड्कारो आवश्यकता छ ।