काठमाडौँ, १३ बैशाख । खानेपानी तथा सरसफाइ मन्त्रालयले आधारभूत खानेपानीको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई दुई वर्षभित्रै स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने कार्ययोजना तयार पारेको छ ।
संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था रहेको छ । संविधानको त्यो व्यवस्था तीन वर्ष भित्र कार्यान्वयन गनुपर्ने भन्दै खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा ल्याउन निर्देशन दिएका थिए ।
मन्त्री शाहीले ३५ लाख जनता अझै पनि स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित भएको तथ्याङ्क रहेको बताउँदै सबै नागरिकलाई समान रुपमा स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने नीति अख्तियार गनुपर्ने धारणा राखे ।
संविधानले समेत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीमा पहुँचको हक हुनेछ भन्ने ग्यारेन्टी गरेकाले त्यसलाई कार्यान्वयन गर्ने कार्ययोजना अघि बढाउनु पर्ने उनले बताए ।
मन्त्री शाहीले आधारभूत र स्वच्छ खानेपानीको पहुँचबाट बाहिर रहेका नागरिक र समुदायको पहिचान गरि हरेक स्थानीय तहमा त्यस्ता नागिरकलाई केन्द्रित गरि एउटा खानेपानी योजना दिने व्यवस्था गर्न समेत निर्देशन दिएका छन् ।
मन्त्री शाहीको निर्देशन बमोजिम मन्त्रालयले एक स्थानीय तह एक खानेपानी पूर्वाधार (आयोजना) कार्यक्रम आगामी बजेटमा समावेश गर्ने निर्णय गरेको छ ।
आधारभूत स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित ३५ लाख नागरिकलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो कार्यक्रम बनाएको हो ।
अबको दुई वर्ष भित्र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व भएकाले मन्त्रालयले त्यही अनुसारको कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।
सात सय चौवालीस स्थानीय तहमा आधारभूत खानेपानीको पहुँचबाट बञ्चित रहेका नागरिकको पहिचान गरि ति नागरिकलाई लक्षित गरि एक स्थानीय तह एक खानेपानी पूर्वाधार (आयोजना) कार्यक्रम लागू गरिने छ ।
स्वच्छ खानेपानीको पहुँचबाट बाहिर रहेका नागरिकलाई लक्षित गरेर ल्याइएको एक स्थानीय तह एक खानेपानी योजनाका लागि मन्त्रालयले एक अरब बजेट छुट्याएको छ । यसका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयसँग १० अर्ब बजेट माग गरेको छ । दुई वर्ष भित्र एक स्थानीय तह एक खानेपानी आयोजना सम्पन्न गर्नका लागि २० अर्ब लाग्ने मन्त्रालयको अनुमान छ ।
अर्थ मन्त्रालयले यो बजेटमा १० अर्ब र अर्को बजेटमा १० अर्ब गरि २० अर्ब रकम दिए खानेपानी मन्त्रालयले प्रत्येक नागरिकलाई दुई वर्षभित्र स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने छ । यसका लागि अर्थ मन्त्रालयले पनि सकारात्मक जवाफ दिएको छ । मन्त्री शाहीले आवश्यकता र औचित्यताको आधारमा पनि अर्थ मन्त्रालयले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने कार्यक्रमलाई सहयोग गर्नुपर्ने भनेपछि अर्थमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
खानेपानी र सरसफाइ भनेको मानिसको आधारभूत र अपरिहार्य कुरा रहेको भन्दै मन्त्री शाहीले यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले आधारभूत खानेपानीको पहुँचबाट बन्चित नागरिकको लागत संकलन गरेर त्यहि अनुसारको कार्यक्रम बनाउनुपर्ने धारणा राखे ।
एक स्थानीय तह एक खानेपानी आयोजना कार्यक्रम सफल बनाउन खानेपानी मन्त्रालय निरन्तर गृहकार्यमा छ |











प्रतिक्रिया