काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका शीर्ष नेताहरूलाई मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज हुने छलफलमा संविधान संशोधनको विषय केन्द्रित हुने राष्ट्रि जनता पार्टी नेपालका नेता राजकिशोर यादवले जानकारी दिए ।
‘संविधान संशोधनको विधेयक सदनमा अगाडि बढेको छ’, उनले भने, ‘एमालेसँग बुधबार के विषयमा सहमति भयो भनेर पनि प्रधानमन्त्रीसँग हाम्रो जिज्ञासा रहनेछ ।’
निर्वाचनको वातावरण बन्दै गएको बताएका नेता यादवले भने, ‘कुनै समस्या आएन भने चुनाव तोकिएको समयमा हुन्छ । मधेसी मोर्चा जिम्मेवार भएर आएको छ । एमालेसहितका दलहरूको भूमिका के रहन्छ त्यसमा भरपर्छ ।’
स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता भएपछि एमालेले संसदको बैठक चल्न दिएको थियो । सो विषयमा मधेसी मोर्चाले स्पष्ट केही नभने पनि संविधान संशोधन वैशाख १८ गतेभित्र भयो भने आफूहरू चुनावमा सहभागी हुन सक्ने संकेत दिइसकेको छ ।











प्रतिक्रिया