काठमाडौं, १३ वैशाख । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आसन्न स्थानीय तहको निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गराउन स्थानीय तहको संख्या थप्ने तयारी सरकारले गरेको स्पष्ट पारेका छन् ।
मधेसी मोर्चासँग भएको सहमतिअनुसार तराईका जिल्ला स्थानीय तहको संख्या थप्ने निर्णयविरुद्ध एमालेले संसद बैठकमा अवरोध गरेपछि सरकारबाट तर्फबाट थापाले बुधबारको बैठकमा जवाफ फर्काएका हुन् । उनले सबैको सहभागितामा चुनाव गराउने सरकारको प्रयासमा बाधा नपुर्याउन समेत आग्रह गरे ।
‘संविधानको कार्यान्वयन, आसन्न स्थानीय तहको निर्वाचनमा सबै दलले भाग लिनसक्ने सुनिश्चितता र आन्दोलनरत मधेसी मोर्चा÷गठबन्धनका मागलाई सम्बोधन गर्न तराईका केही जिल्लाका स्थानीय तहका सख्या र सीमा पुनरावलोकन गर्न लागिएको हो,’ थापाले सदनसमक्ष जानकारी गराए ।
पुनरावलोकन गर्न लागिएका सम्बन्धित जिल्लाका प्राविधिक समितिबाट सिफारिस भई आउने संख्या र सीमाको अन्तिम टुङ्गो सदनमा प्रतिनिधित्व गर्ने दलका सहमतिमा गरिने उनले स्पष्ट पारे ।
उपप्रधानमन्त्री थापाले भने– ‘विधि र प्रक्रियामा टेकेर नै पुनरावलोकन गर्न लागिएको हो, काठमाडौंमा बसेर यस्तो काम गर्नुभन्दा प्राविधिक समितिलाई नै जिम्मा दिइएको हो, समितिबाट आउने सिफारिसलाई सहमतिबाट टुङ्गो लगाइने छ ।’ मन, वचन र कर्मले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै राजनीतिक दलसित अपिल गर्दै उनले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
अहिलेको आवश्यकता संविधान कार्यान्वयन गर्दै स्थानीय निर्वाचनलाई सफल पार्नु भएको र यसमा सबैको ध्यान जानुपर्ने उपप्रम थापाको भनाई छ ।











प्रतिक्रिया