काठमाडौं, १२ वैशाख । स्वास्थ्यमन्त्री गगन थापालाई नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारको उपप्रधानमन्त्री बनाउने भएको छ ।
यसका लागि कांग्रेसभित्र लबिङ सुरु भएको छ । देउवा अबको एक महिनाभित्र प्रधानमन्त्री बन्दैछन् । सभापतिको नेतृत्वमा सरकार बन्ने भएपछि कांग्रेसभित्र स्थानीय चुनावको तयारीसँगै नयाँ सरकार बनाउने गृहकार्य पनि सुरु भएको हो ।
कांग्रेस निकट स्रोतका अनुसार युवा नेता एवं हालका स्वास्थ्यमन्त्री गगन थापा देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । उनलाई यति ठूलो पद दिन कांग्रेसजन सकारात्मक छन् । काम गरेर देखाउने थापा उपप्रम भन्दा सरकारको साख जोगिने देखिएपछि स्वयं सभापति देउवा पनि सकारात्मक छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री रहेका थापाले उदाहरणीय काम गरेपछि कांग्रेसमा उनलाई नयाँ सरकारको उपप्रधानमन्त्री बनाउन लबिङ सुरु भएको हो । स्वास्थ्यमन्त्री थापाले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेका छन् ।
थापाको प्रयासले स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तन आएपछि कांग्रेसभित्र उनलाई नयाँ सरकारमा उपप्रम बनाउन अधिकांश केन्द्रीय सदस्य र नेताहरु सकारात्मक देखिएका हुन् । ‘गगन दाईको पक्षमा कांग्रेसभित्र माहोल बनेको छ । काम गर्ने युवा भएकाले उहाँलाई उपप्रधानमन्त्री बनाउनपर्छ भन्ने सबै नेताको एकमत छन् । विशेषगरी युवा नेताहरुले विशेष जोड दिइरहनुभएको छ,’ एक युवा नेताले भने ।











प्रतिक्रिया