काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न आरोपहरूलाई लगाउँदै सिलवाललाई रहस्यमय रूपमा नियन्त्रणमा लिइएको हो ।
सिलवालमाथि कार्यसम्पादन मूल्यांकन किर्ते गरेको, चेन अफ कमान्ड नमानेको अभियोग लगाइएको छ । तर यो भन्दा पनि प्रतिशोध साँध्ने रूपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
कार्यसम्पादन मूल्याँकन हेरफेर गरेको आरोपमा डिआइजी बिजय भट्ट नेत्रित्वको छानवीन टोलीले डिआइजी सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालय लगेको स्रोतको भनाइ छ । सिलवालले आफ़ूसँगै बरिष्ठ अधिवक्ता शम्भु थापालाई पनि प्रहरी मुख्यालय नक्साल लगेका छन् ।
किर्ते अभियोगमा डिआइजी सिलवालविरुद्ध छानविन गर्न गृहमन्त्रालयले डिआइजी भट्टको संयोजकत्वमा शुक्रबार पाँच सदस्यीय छानविन टोली बनाएको थियो । सो टोलीले सिलवाललाई पटक–पटक बयानका लागि बोलाउँदा पनि अटेर गरेको आरोप लगाइएको छ ।
सिलवालले प्रहरी संगठनको चेन अफ कमाण्ड उल्लंघन गरेर सुरक्षा समन्वय समिति (पीसीसी)को बैठकमा नगएको तथा महानिरीक्षक प्रकाश अर्यालले दज्र्यानी चिन्ह पाउँदा पनि उपस्थित नभएको आरोप पनि छ ।











प्रतिक्रिया