१ कार्तिक २०८३, आइतबार

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न आईजीपीले ‘एक्सन’ लिएपछि माओवादीमा खैलाबैला

24.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका फरार बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्न मातहतलाई निर्देशन दिएका छन् ।

ज्यान मुद्दामा सजाय पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक संरक्षणमा बस्दै आएका पूर्व सभासद एवम् नेकपा (माओवादी केन्द्र) का नेता ढुंगेललाई पक्राउ गर्न आईजीपी प्रकाश आर्यालले निर्देशन दिएका हुन् । सर्वोच्च अदालतले ढुंगेललाई एक साताभित्र पक्राउ गर्न नेपाल प्रहरीलाई आदेश दिएको थियो ।

तर, माओवादी केन्द्रका नेता ढुंगेल प्रधानमन्त्री दाहालको संरक्षणमा सरकारी गाडी चढेर भारततर्फ प्रस्थान गरेको स्रोतहरूले दाबी गर्दै आएका छन् । ढुंगेल आजकाल भारतमा लुकेर बसेको बताइन्छ ।

आईजीपी अर्यालले आफू मातहत सम्पूर्ण निकायलाई पूर्व सभासद ढुंगेललाई नियन्त्रणमा लिएर कारागार चलान गर्न आइतबार निर्देशन दिएका हुन् । अर्यालको निर्देशनसँगै माओवादी केन्द्रभित्र खैलाबैला भएको स्रोतको भनाइ छ ।

अर्यालले सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट वैशाख ३ गतेको पत्रलाई कार्यान्वयन गर्न बरिष्ठ प्रहरी अधिकृतहरूलाई पनि निर्देशन दिएका छन् ।

‘अदालतको अवहेलना मुद्दामा फरार प्रतिवादी बालकृष्ण ढुंगेललाई तुरुन्त पक्राउ गर्नु आवश्यक देखिँदा निजलाई पक्राउ गर्न आफू र आफू मातहतको सम्पूर्ण प्रहरी संरचना परिचालन गरी सात दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेश गर्नु’, आईजीपी अर्यालको निर्देशनमा भनिएको छ ।

आईजीपी अर्यालको निर्देशनमा भनिएको छ, ‘फरार प्रतिवादीलाई सम्मानित अदालतको म्यादभित्रै पक्राउ गर्न नेपाल प्रहरीको सम्पूर्ण संरचना एवम् विशेष टोली समेत परिचालन भइरहेकाले फरार प्रतिवादी पक्राउ हुनासाथ सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई सोको प्रतिवेदन सम्मानित अदालतमा पेश गरिने ब्यहोरा सादर अनुरोध गर्दछु ।’

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा सजाय पाएका ढुंगेल राजनीतिक संरक्षणमा खुला रुपमा हिँड्दै आएका छन् ।