
काठमाडौं, १० वैशाख । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले सरकारले शनिबार भएको भद्र सहमतिअनुसार संविधान संशोधन सहितका निर्णय गरेको भन्दै स्वागत गरेको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आइतबार बसेको गठबन्धनको बैठकले संविधान संशोधन विधेयक पारित नहुँदासम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
‘भद्र सहमतिअनुसार सरकारले मन्त्रिपरिषदबाट गरेको निर्णय स्वागत योग्य छ’, बैठकपछि संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘संविधान संशोधन नहुँदासम्मका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।’ उनले भने, ‘आन्दोलन स्थगित मात्रै भएको छ । फिर्ता भएको छैन ।’ उनले संविधान संशोधन भएपछि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने बताए ।
गठबन्धनका प्रबक्ता डा ओम गुरुङले मोर्चासंगको सहमतिमा मात्रै आन्दोलन स्थगन गरेको भन्दै सरकारका मन्त्रीहरूले गलत कुरा बाहिर भनेकोमा आपत्ति जनाए । उनले संघीय गठबन्धनलाई उपेक्षा गरेर बालुवाटारमा सहमति भएको भन्दै आपत्ति पनि जनाए ।











प्रतिक्रिया