२८ आश्विन २०८३, बुधबार

गान्धीवाद, मोदीवाद, माओवाद र पुँजीवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra_Shrestha

एमाओवादीभित्र बाबुराम र प्रचण्डबीचको झगडा कहिले चर्किने र कहिले साम्य हुने भैरहेको छ । यस्तै अन्तर संघर्ष एमाले, कांग्रेस र सबै पार्टीहरूभित्र पनि भैरहेकै छ । तर देशले राजनैतिक निकाश र आर्थिक विकासको सुरुआत भने पाउन सकेको छैन ।

बाबुराम र प्रचण्डले जतिसुकै वैचारिक अन्तरसंघर्ष भनेपनि उनीहरूको झगडा केवल आफ्नो व्यक्तिगत नेतृत्व पार्टीभित्र कायम गर्नका लागि हो । उनीहरूबीच दृष्टिकोण र विचारमा आधारभूत भिन्नता देखिँदैन । न त कार्यशैलीमा नै कुनै फरकपना रहेको छ । उनीहरू दुवैको समस्या भनेको गान्धीवाद र माओवादको खिचडी बनाएर अघि बढ्ने कोसिसमा रहेको छ । उनीहरू न त माओवादी बन्न सके न त गान्धीवादी नै । उनीहरू न त पुँजीवादी बन्न सके न त साम्यवादी नै ।

विराटनगर सम्मेलनमा बाबुरामले पेश गरेको फरकमतमा ‘हेटौंडा महाधिवेशनले संश्लेषित गरेको नेपालमा पुँजीवादी जनवादी क्रान्ति केही नयाँँ जनवादी र केही पूरानो जनवादी तरिकाले मूलत: सम्पन्न भएको र अव पुँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्नुपर्ने नयाँ विकसित कार्यदिशा’को नै पक्षपोषण गरिएको छ जुन प्रचण्डले पेश गरेको कार्यदिशा हो । तसर्थ प्रचण्ड र बाबुरामबीच आधारभूत कार्यदिशामा मतभेद नभएको र उनीहरूको झगडा केवल व्यक्तिगत स्वार्थको झगडा हो भन्ने प्रष्ट हुन्छ ।

देशले राजनैतिक निकास र आर्थिक विकासको सुरुआतसम्म पनि नपाउनुको प्रमुख कारण के हो र यसको उपाय के हो भन्ने विषयमा एमाओवादीको हेटौंडा महाधिवेशनको कार्यदिशा र विराटनगर सम्मेलन दुवैले दिन सकेको छैन, प्रचण्ड र बाबुराम दुवैले दिन सकेका छैनन् । हेटौंडा महाधिवेशनमा प्रचण्ड र बाबुरामले बनाएको कार्यदिशा—रुपमा उग्रवामपन्थी र सारमा घोर दक्षिणपन्थी कार्यदिशा हो । उनीहरूको भनाइ छ नेपालमा पुँजीवादी जनवादी क्रान्ति मूलत: पूरा भएको छ, त्यसका केही बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तितर्फ अघि बढ्नु पर्दछ । के नेपालमा समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्नु पर्ने नयाँँ विकसित कार्यदिशा भनेको समाजवादी क्रान्तिको तयारी गर्ने र सुरुआत गर्ने भन्ने अर्थ लाग्छ ? बाबुराम र प्रचण्डको समस्या यही छ । जबकी नेपालमा पुँजीवादी क्रान्ति नै पूरा भएको छैन र पुँजीवाद नै आएको छैन भने समाजवादी क्रान्तिको कार्यदिशामा अधि बढ्न खोज्नु उग्रवामपन्थी फलाकोवाजी मात्र हो । फलाकोवाजी किन भने उनीहरू वास्तवमा समाजवादी क्रान्तितर्फ अघि बढ्न लाग्ने कदापी होइनन् । उनीहरूले जनतालाई र कार्यकर्तालाई अलमल्याउन मात्र खोजेका हुन् । नेपालमा बाबुराम प्रचण्डले भनेजस्तो पुँजीवादी जनवादी क्रान्ति नै मूलत: पूरा भएको छैन । यो मुलत: अधुरो रहेको छ । त्यसैले मूलत: अधुरो रहेको पुँजीवादी जनवादी क्रान्ति पूरा गर्नु नै नेपालका सबै पार्टीहरूको कार्यभार हुनु पर्ने हो । तर बिडम्बनाको कुरा यो रहेको छ कि एकपछि अर्को गर्दै नेपालका पार्टीहरू सबैले र ठूलावडा नेताहरू सबैले नेपालमा पुँजीवादी जनवादी क्रान्ति मूलत: पूरा भएको भन्दै समाजवादी क्रान्तिको चर्का कुरा गर्न लागेका छन् ।

समस्या कहाँ छ भने बाबुराम प्रचण्डहरूले नेपालमा जुन कुरालाई देखाएर पुँजीवाद आयो भनिरहेका छन्, त्यो वास्तविक जनपक्षीय र देशपक्षीय पुँजीवाद होइन । माक्र्सवादी चश्मा नलगाइकनै पनि नांगो आखाले देख्न सकिने नेपाली अर्थतन्त्रको वास्तविकता यो हो की नेपालले युवा जनशक्तिको र कच्चा पदार्थको निर्यात गर्दछ, त्यसबाट आउने पुँजीले विदेशी सामान आयात गर्दछ, अनि पुँजी पुन: विदेश पुग्दछ । विदेशी सहयोग वा अनुदान व्याजमा कर्जा प्राप्त हुन्छ, त्यसबाट विदेशी सामान र कन्सल्टेन्ट आउँछन्, पुन: त्यो पैसा विदेशमै पुग्छ । उद्योगधन्दाको विकास, पुँजीवादको तीब्र विकास चीन, भारत, अरब र अन्य देशमा भैरहेको छ, नेपाल उनीहरूको बजार भैरहेको छ, नेपाल उनीहरूको पुँजीवादको विकासको लागि सस्ता कच्चा पदार्थ र सस्तो जनशक्ति निर्यात गर्ने देश बनेको छ । बाबुराम प्रचण्डहरूले कार्यकर्ता र जनतालाई यहीं ढाँटेका छन्, उनीहरूले नयाँँखाले औपनिवेशिक अर्थतन्त्रलाई, दलाल पुँजीवादी अर्थतन्त्रलाई नै पुँजीवादी अर्थतन्त्र भनेर झुक्याउन खोजेका छन् ।

बाबुराम प्रचण्डहरूको तर्क छ कि नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको र सामन्ती राजतन्त्र ढलेकोले पुँजीवादी जनवादी क्रान्ति मूलत: पूरा भएको छ । यदि यो तर्क मान्ने हो भने चीनमा पनि सन् १९११ मा नै राजतन्त्र ढलेर गणतन्त्र आएको थियो । के त्यहि बेला पुँजीवादी जनवादी क्रान्ति मूलत: पूरा भएर चीनमा पुँजीवाद आएको हो ? यस्तो तर्क गर्ने च्याङकाइ शेक जस्ता तानाशाह गद्दारको चेला बन्न पुगेका छन् कामरेड बाबुराम र प्रचण्डहरू । सामान्य जनताले पनि बुझेर भनिरहेका छन् कि नेपालमा एकजना राजा गए तर सयौं राजा जन्मे । राजा ज्ञानेन्द्र पनि पूरै सामन्ती कहाँ थिए र ? उनी त अझ बढी दलाल पुँजीपति थिए । ज्ञानेन्द्र राजा हुँदा र प्रचण्ड बाबुराम प्रधानमन्त्री हुँदाको गणतन्त्रमा पनि नेपालमा जनपक्षीय र देशपक्षीय पुँजीवाद होइन नयाँँखाले औपनीवेशिक र दलाल पुँजीवाद नै थियो र अहिले पनि मूलत: यहि नै छ । त्यसैले नेपालमा पुँजीवादी क्रान्ति मुलत: पूरा गर्न बाँकी नै छ ।

जनपक्षीय र देशपक्षीय पुँजीवादको विकास गर्ने पुजीवादी क्रान्ति कसरी गर्ने ? यो गान्धीवादी तरिकाले असम्भव छ । गान्धीको तरिका भनेको सत्तामा नगइकन आर्थिक विकास गर्ने तरिका भनेर बुझ्ने हो भने राजनैतिक नेताहरूले यो बाटो कहिले पनि लिने छैनन् भन्ने कुरा स्वत स्पष्ट छैन र ? गान्धी सत्तामा नगइकन गान्धीगिरीको नयाँँ बाटो दिन खोजे । बुद्धको तरिका पनि कुनै राजनैतिक नेताले अपनाउने छैनन् । बुद्धले आफ्नो दरबार र युवराज पद नै छाडेर गएका थिए ।

मोदीले नेपाल आउँदा भनेका थिए कि शस्त्र छाडेर शास्त्रको बाटोमा लागेपछि राम्रो हुन्छ । अरुलाई उपदेश दिनु एउटा कुरा हो तर आफैंले लागू गर्नु अर्को हो । के मोदीले भारत सरकारसंँग भएका सबै महाविनाशक शस्त्र परित्याग गर्नेछन् ? छैनन् । देश रहनका लागि राज्यसत्ता चाहिन्छ, राज्यसत्ता भनेको शस्त्रसहितको मात्रै हुन्छ । राज्यसत्ता बिना पुँजीवादको विकास पनि सम्भव छैन । त्यसैले राजनेताहरूको लक्ष्य राज्यसत्तामा पुग्ने र त्यसको माध्यमबाट देशको र आफ्नो पनि आर्थिक विकास गर्ने हुन्छ । त्यसैले पुँजीवादी क्रान्ति भनेको पुँजीवादको विकास गर्न प्रतिवद्ध नेताहरूको समूह राज्यसत्तामा पुग्नु हो । नेपालमा अहिलेको अवस्थामा पुँजीवादको विकास गर्न प्रतिवद्ध नेताहरूको र कार्यकर्ताहरूको निर्माण नै पहिलो आवश्यकता हो । तर यहाँ दलाल पुँजीवादलाई नै पुँजीवाद भनेर ढाँट्ने र समाजवादी क्रान्तिको चर्का कुरा गर्ने नेताहरूले नै भ्रम दिइरहेका छन् ।

नेपालमा दलाल पुँजीवाद होइन जनपक्षीय र देशपक्षीय पुँजीवाद को तीब्र विकास गर्ने न्युनतम भिजन भएका नेता कार्यकर्ताहरूको समूह बनेपछि या त ब्यालेटको माध्यमबाट वा बुलेटको माध्यमबाट राज्यसत्तामा पुग्नु पर्दछ र कम्तीमा दश वर्ष स्थिर सरकार चलाउन पर्दछ । अनि मात्र यहाँ पुँजीवादी क्रान्तिको वास्तविक सुरुआत हुन्छ र पुँजीवादको विकासको तीब्र सुरुआत भै नेपालको राजनैतिक समस्याको निकास निकाल्दै आर्थिक विकासको बाटोमा अधि बढ्ने हुन्छ । बुलेटको माध्यमबाट राज्यसत्तामा पुगेर माओले भीखारी देश चीनलाई नयाँँखाले पुँजीवादी क्रान्तिको पूर्णतामा लगे । मोदीले ब्यालेटको माध्यमबाट राज्यसत्तामा पुगेर त्यहि काम भारतमा गर्न कोशिश गर्दैछन् ।

देश पक्षीय र जनपक्षीय पुँजीवाद भनेको केहो ? यसबारे माओको भनाइ कोही पनि सुन्न चाहँदैनन् । मोदीको भनाइ त सुन्छन् कि ? मोदी भन्छन् — भारतमा बनाऊ, जहाँसुकै बेच तर भारतमा उत्पादन गर, मेड इन इन्डिया छाप भएका सामानहरू संसारभरि फैलाएर गर्व गरौं । नेपालमा जनपक्षीय र देशपक्षीय पुँजीवाद ल्याउने भन्नुको अर्थ हो उद्योगको तीब्र विकास गर्नु, उद्योगहरू व्यापक रुपमा स्थापनाका लागि जे जस्तो गर्नु पर्छ हिम्मतका साथ गर्नु, उद्योग स्थापना तीब्र भएपछि एकातिर देशका युवाहरूले यहिँ रोजगार पाउँछन्, यहिँ उत्पादित सामान खपत भएपछि पूँजी देशभित्रै रहन्छ र अर्को उद्योग स्थापनाको लागि पुँजी जम्मा हुन्छ, यसरी औद्योगिक क्रान्ति सुरु हुन्छ जुन पुँजीवादको मुख्य खम्बा हो, मुख्य आधार हो ।