२९ आश्विन २०८३, बिहिबार

तराईमा एसपीहरूको प्रतिस्पर्धा: कसैले कमाए नाम, कसैले दाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

काठमाडौं, २० असोज । एसएसपी रमेश खरेल पर्साबाट सरुवा हुँदा तस्करहरूले भोज गरेका थिए । यसपटक रुपन्देहीबाट एसपी विक्रमसिंह थापाको सरुवा हुँदा भैरहवाका तस्कर र व्यापारीहरूले खुशी मनाए।

झोले तस्करदेखि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठलाई समेत फन्दामा पारेका एसपी थापाको गत साता सवसाधरणले भव्य विदाइ गरिरहेका थिए भने अर्काेतर्फ तस्करहरू पार्टीको आयोजना गरेर खुशी मनाइरहेका थिए । पहिले यस्तो अवस्था थियो, तस्करहरूले आफूले चाहेको प्रहरी अधिकारीलाई सरुवा गराउन सक्दथे । त्यसपछि संगठित रुपमा तस्करीको धन्दा चलाइन्थ्यो । तराईमा एक वर्ष काम गर्दा प्रहरीका हाकिमले घर/गाडी सबै सपना पूरा गर्थे ।

तर तराईको पुलिसिङ फेरिँदै गएको छ । तराईका जिल्लामा हाकिम भएर जाने प्रहरीहरूबीच दाम भन्दा नाम कमाउने प्रतिस्पर्धा हुन थालेको छ । तस्करहरू निदहराम हुने अवस्था छ । रुपन्देहीमा तहल्का मच्चाएर हालै सरुवा भएका एसपी थापा अहिलेका एसपीहरूमध्ये सिनियर मात्र होइनन्, सबैभन्दा लोकप्रिय मानिन्छन् । उनी जहाँ जान्छन्, त्यहा पुलिसिङमा नयाँ छाप छोड्न सफल भएको बताइन्छ । सिराहादेखि, ललितपुर, बाँके, रुपन्देही सबैतिर उनी सफल भएका छन् । रुपन्देहीमा रहँदा मातृभूमि बेच्ने गिटी ढुंगा तस्करविरुद्ध जेहाद मात्र छेडेनन् तेल चोरी गिरोहमा फन्दामा पारी आयल निमगका कर्मचारीहरूलाई समेत पक्राउ गरेर खोरमा हालेर जनताको मन जिते । यसपटक तराईको जिल्लाको पुलिसिङ थापा फेरि हिरो भएका छन् । हुन त उनी इन्सपेक्टरदेखि नै चर्चित प्रहरी अधिकारी हुन् । कहिले गुण्डा र मुन्द्रेविरुद्ध अप्रेसन चलाएर त कहिले चेलिबेटी बेच्नेहरूलाई समातेर उनले चर्चा कमाएका थिए ।

त्यस्तै तराईमा एक वर्ष काम गरेर सरुवा भएका उत्तम सुवेदी पनि यतिबेला चर्चामा छन् । धनुषाको पुलिसिङमा उनले पनि महत्वपूर्ण योगदान दिए । सभासद् संजय टक्लादेखि तराईका एक दर्जन ठूला अपराधीलाई समातेर धुनषावासीलाई अपराधीको आतंकबाट कम गर्न उनी सफल भए । तर सरुवा भएर फर्कदा आफू असफल भएको उनले बताए । केही ठूला अपराधीहरूलाई पक्राउ गर्ने काम बाँकी नै भएकाले आफू असफल भएको उनको भनाइ थियो ।

हुन त एसपी सुवेदीमाथि राजनीतिक नेतृत्वसँग सम्बन्ध राख्न र कमाउन पनि माहिर अधिकारीको आरोप लाग्ने गरेको छ । तर धुनषामा उनी आर्थिक विवादमा भने परेनन् । कार्कीको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ भने कानुन शाखाका एसपी गणेश थापाले उनलाई त्यहाँ प्रतिस्पथापन गरेका छन् । थापाको राम्रो छवि नभएको प्रहरी अधिकारीहरुको दाबी छ ।

त्यस्तै मोरङका एसपी विश्वराज पोखरेलको पनि यसअघि राम्रो छवि थिएन । तर मोरङका अघिल्ला एसपीहरूले त्यहाँ सुधार गरेकाले यसपटक उनले पनि विगतभन्दा राम्रो काम गरे । विराटनगर ठूला व्यापारीले नै माफियागिरी चलाउने सहर हो । जहाँ प्रहरीहरूले प्रशस्त कमाउने गर्दछन् । पोखरेलको ठाउँमा गत साता त्यहाँ सोझा एसपी ठूले राईलाई सरुवा गरिएको छ । पर्सामा धीरजप्रताप सिंह पनि यसपटक राम्रो छाप छाड्न सफल भएका छन् । सुन तस्करदेखि केही ठूला अपराधीलाई उनले समातेका छन् । धनुषाबाट सरुवा भएका सुवेदी, पर्साबाट सरुवा भएका सिंह र मोरङबाट सरुवा भएका पोखरेल एउटै ब्याचका एसपी हुन् । त्यसकारण करिअरका लागि पनि उनीहरूबीच काम देखाउने प्रतिस्पर्धा चलेको थियो । सिंहको ठाउँमा एसपी दिवेन लोहनी पर्सामा सरुवा भएका छन् । रमेश खरेल पर्सामा हुँदा लोहनीमा उनका दाहिने हात थिए ।

त्यस्तै चितवनमा प्रद्युम्न कार्कीले पनि मन जित्न सफल भएका छन् । सुरुमा गुण्डागर्दीको आरोपमा पक्राउ परेका कांग्रेस निकट गुण्डालाई केही दिनमै छाडेर विवादमा तानिएका उनी पछि ब्यालेन्स गर्न सफल भए । गुण्डागर्दीको हब बनेको चितवनलाई गुण्डागर्दीमुक्त बनाउन उनले योगदान दिएको चितवनवासीहरू बताउँछन् । गुण्डा र तस्करहरूसँग पैसा नखाएपनि व्यापारीहरूसँग पनि एसपी कार्कीले पैसा लिएको आरोप लाग्ने गरेको छ । एसपी कार्कीको स्थानमा चितवनमा सहकुल थापाको सरुवा भएको छ । एसपी थापाले यसअघि खासै राम्रो छवि बनाउन सकेका छैनन् । थापा एमाले निकट भएको थाहा पाएपछि चितवनमा एमालेको आवरण गुण्डागर्दी गर्नेहरू खुशी भएका छन् ।

मकवानपुरबाट हालै सरुवा भएका गणेश ऐर पनि पैसा कमाउन सफल भएका छन् । उनका घुुमुवा दुई किलो सुन लुटपाटमा मुछिएर पक्राउ परेपनि सो प्रकरणमा एसपी ऐरलाई भने कारबाही भएन । उनको ठाउमा सोझा स्वभावका एसपी प्रकाशजंग कार्कीको सरुवा भएको छ । सर्लाहीका रवीन्द्र धानुक, महोत्तरीका रामप्रसाद श्रेष्ठ, सिराहाका दिनेश अमात्य भने नामभन्दा बढी दाम कमाउन सफल भएको आरोप लागेको छ । सिराहाका एसपी आमात्य त नेताहरूलाई खुशी बनाई ६ पटक लगातार इन्चार्ज खान सफल छन् । असुलेको घुस क्यासिनो किङ बलराम सापकोटामार्फत चर्काे ब्याजमा लगानी गरी उनले पैसा थुपार्दै आएको आलोचकहरुको दाबी छ । सिराहाबाट उनको १ नम्बर गणमा सरुवा भएको छ ।

दाडमा शरद खत्री, नवलपरासीका बिष्णुहरी गौतम, सिराहाका पूर्णचन्द्र जोशी, उदयपुरका अजय भटराईले पनि तराईको पुलिसिङमा खासै परिवर्तन ल्याउन सकेनन् । तराईमा हेडक्वार्टरले नेताहरूको सिफारिसमा एसपीहरूको सरुवा गरेकाले यसपटक भने राम्रो काम गर्ने अपेक्षा कमैले गरेका छन् । रौतहटमा सानुबाबु थपलिया, महोत्तरीमा शौरभ राणा तथा उदयपुरमा संजयराज शर्माको सरुवा भएको छ । हत्या केसमा मिलापत्र गराएर पैसा खाएको पीडितहरूले प्रमाणसहितको उजुरी दिँदा पनि एसपी शर्मामाथि कारबाही भएन । बरु उल्टो उनी मिसन गए र त्यहाबाट फेरि जिल्ला प्रमुख बनाइएको छ ।

सप्तरीमा दानसिंह बोहोरा, रुपन्देहीमा राजेन्द्र ढकाल, सर्लाहीमा सुरेश बस्नेतको सरुवा भएको छ । उनीहरू प्रहरीमा मध्यम कार्यक्षमता भएका प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । झापाका मुकुन्द आचार्य, बाराका ईश्वरबाबु कार्की र बाँकेका शेखर कोइराला पनि नाम र दामकै दौडमा छन् ।