विश्वविनोद घिमिरे
स्वाभिमान र सार्वभौमिकतामा अडेको मुलुक भन्दैमा अचेल स्वाधीन राष्ट्र तपाई मान्नुहुन्छ या हुन्न यो फरक बिषय बन्न सक्छ । तर आजकल आसेपासेको आडमा ढाड कन्याउनेहरु धेरै नै देखिएका छन् । ढाँट, आँट र गाँठको राजनीतिले बिथिति पारेको बेला रीति सम्हाल्ने थितिको लागि यत्रै सिति भनेर मिति गनेर बस्ने अनि परदेशाय नम भनेर घुँडा धस्नेहरुको कथा झन् सुन्न र गुन्न लायकको हुन सक्छ । समाजमा गएर एकै जनाले भोटको लागि एकै दिन बाइबल, पुराण र नमाज पढिदिन सक्छ । वाह यो के काइदा हो बहुरुपी रंग र ढंगमा देशमा उमंगको रंग यसबाट के आउला र ? देशको छाला काढेर हलाल गर्ने दलालहरु देशको पानीमा र्याल चुहाएर जनताका सपनाहरु कुहाएको भने पक्कै हो ।
यहाँ यत्रो कुरा कस्को गर्न ला’को होला तपाईले छनक पाई सक्नु भो होला, राष्ट्रलाई पटकपटक दनक दिने यिनीहरुको बखान गरेर गरि साध्य छैन । यिनहरुको ब्यक्तित्व अचम्मको हुन्छ । त्यसैले यहाँ यी बहुरुपिको चर्चा गर्न लागिएको छ ।
पहिलो हुन् कोदोरोल वाटर बाट मन्त्री क्वाटरसम्म पुगेका ब्यक्तित्व । गाउँमा खुर्सानी बारीसम्म नहुने र हुति नभएकाहरु चाकडीको टुकडी नै बनाएर उच्च पदस्थ बनेका भनेर झ्याप्पै नभने पनि तपाईले उनि कहाँ कसरी पुगे भन्ने जानिहाल्नु भएकै छ । आठ कक्षामा फेल भए पछि जालझेल गरेर राजनीतिमा थिति बसाल्न पुगेका यि ब्यक्तित्वको मुल मन्त्र कमाउ र रमाउ रहेको छ । गतमहिना यिनले नेपालको झण्डाको टेबलपोस बनाएर बियर र सेकुवाको बाह«मासे खेलमा सरिक हुन थालेछन् । अनि कमाउको धन्दाको डन्डा पनि राम्रैसँग चलेछ ।
अर्का ब्यक्तित्व पनि उस्तै मार्काका हुन् । जो अगुवा उही बाटोमा हगुवा भने झैं जनतालाई पछुवा बनाउने अनि आफू चाँहि कछवा गतिमा हिड्न रुचाउने यस्ता प्रबृत्तिका ब्यक्तिसँग गुण रहेको हुन्छ । गाउँकै कुरा गर्ने हो भने यिनले मुल बाटोमा छापेको ढुंगा उप्काएर चप्काएछन्, पछि ढुंगा खै भनेर सोध्दा त मज्जाले हप्काएछन् । सुन्नुस् न गाउँमा ढुंगाको भ्रष्ट्राचार गर्ने आज त्यो कुर्सीमा बसेर के सदाचारको नारा लगाएको छ र ? ढुंगामा पनि लाटा बुंगाको देश सोचेर झम्काउनेले के के चम्काएको होला अनि राष्ट्रको डुंगा कसरी चलाएको होला हजुर ?
काउन्ट डाउनमा नम्बर घटेर आउँछ तर दुई नम्बरी धन्दा छाडेर राष्ट्र निर्माणको एक नम्बरी धन्दामा कहिल्यै आउन नसकिने सन्जालको जन्जालमा फसेका यिनी पनि सामन्य ब्यक्तित्वबाट माथि उठ्न नसकेका हुन नै तर संगठनको आडमा मुखमा माड लगाएर साहस बटुलेर अचेल राष्ट्रको ठेक्का पनि मौलाइ देउ भनेर ठेकेदार बन्ने हेक्का राख्दैछन् । गाउँका खेतियोग्य जग्गा मासेर प्लटिङकोे कारोवार गर्नेहरु आज देशको लागि रोजगार पाएका यिनहरु अब राष्ट्रकै प्लटिङ गर्छु भनेर तम्सिए भने केही उदेक लाग्ने कुरा हुने छैन । यिनीहरु त राष्ट्रिय झण्डाको ओछ्यान लगाएर बिदेशी रक्सीले कुल्ला गरेर हल्ला गर्न माहिर हुन्छन् ।
गैडालाई खाग खतरनाक, सुन्दरतालाई दाग खतरनाक भएपनि यिनिहरुलाई आफ्नो नाक कहिल्यै खतरनाक लाग्दैन । किनकी टुप्पामा पलाउने नव धनाढ्यहरुलाई आफूले कमाएको इज्जतको मतलब हुँदैन भने अर्काले दिएको इज्जतलाई यिनीहरुले खेलको रुपमा सोचेका हुन्छन् । सुन्नु भो यिनिहरुलाई हामीले नै इज्जतिलो बनाइरहेका छौं, लौ भन्नुस् त तपाई यिनिहरुको इज्जत गर्दै हुनुहुन्छ भने तपाई कतिको इज्जतिलो ?














प्रतिक्रिया