
झापा, ७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमाले तेस्रो पार्टी बन्ने तर्क गरेका छन् ।
झापामा माओवादी केन्द्रको चुनावी अभियान र वाइसीएलको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले तेस्रो पार्टी बन्ने विश्लेषण सुनाएका हुन् । ‘मेची-महाकाली अभियानले एमालेलाई उल्टै घाटा हुने प्रचण्डको तर्क छ । गत चुनावमा हामीले मेची-महाकाली अभियान चलायौं । त्यसबेला हामी तेस्रो भयौं ।’, प्रचण्डले भने- ‘यसपटक एमालेले त्यसो गर्यो, एमाले तेस्तै हुन्छ ।’
‘२०६४ को चुनाबमा जितेपछि धर्ती छाडेझैं भयो । जनताले पछि ०७० हामीलाई देखाइदिए । हामीले जनतालाई छाड्यौं । जनताले सजाय दिए, तरपनि जनतालाई धन्यबाद छ ।’, उनले थपे – ‘जनताले तेस्रो दल बनाइदिए पनि केही छैन । राजनीतिमा माउते बनेका छौं । त्यही भएर काँग्रेस र एमालेलाई टाउकोमा हानिरहेका छौं ।’
एमाले अध्यक्ष केपी ओलीको जिल्लामा पुगेर प्रचण्डले ओलीमाथि नै गम्भीर आरोप समेत लगाए । ‘ओलीलाई प्रधानमन्त्री बनाउने र शुशील कोइरालालाई राष्ट्रपति बनाउने शर्तमा सहमति गरेपछि मात्र एमाले र कांग्रेस संबिधान जारी गर्ने ठाउँमा आइपुगेका हुन । नत्र उनीहरुले यो संबिधान जारी नै गर्ने थिएनन् ।’ -प्रचण्डको दाबी छ ।
संचारमन्त्री एवं माओवादी नेता सुरेन्द्र कार्कीले त काँग्रेस र एमालेलाई यसरी व्यंग्य गरे । ‘प्रचण्ड झापा आउँदा सूर्य देखिएन, अबको चुनावमा पनि सूर्यलाई अलप गराइदिनुस्, सूर्य अलप भएपछि रुख त देखिँदै देखिँदैन ।’- उनले भने ।
०६४ को चुनावमा जित्दा हौसिएको माओवादी ०७० को चुनावमा हारेपछि मुर्छा परेको कार्कीको अनुभव थियो । भने – ‘६ महिना त होस् आउनै लाग्यो, त्यसबेला जनताले हामीलाई नाकको डाँडीमै हाने ।
यसैगरी, कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका कारण देशको आर्थिक बृद्धिदर बढेको दाबी गरे ।
माओवादी नेता गोपाल किरातीले एमालेले चुनाब असोजमा सार्न प्रस्ताब गरेको दाबी गरे । बाहिर बाहिर चुनाब नसार्न दबाब दिने र भित्र भित्र चुनाब सार्न एमालेले प्रयास गरिरहेको उनको जिकिर छ ।
उपेन्द्र यादवलाई ‘गौर काण्डका नाइके’को संज्ञा दिँदै उनले यादब चुनाब बिथोल्न लागिपरेको बताए ।















प्रतिक्रिया