काठमाडौं, ७ बैशाख । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य एजेण्डा ‘हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र’ हटाउने गरेको निर्णय पुनर्विचार गर्नुपर्ने माग निर्वाचन आयोगले तत्कालका लागि थाति राखेको छ । यसअघि निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वातन्त्रता सहितको सनातन हिन्दुराष्ट्र’ एवं ‘राजसंस्था सहितको लोकतन्त्र’ भन्ने वाक्यांश हटाएको थियो ।
आयोगको निर्णय पुर्नविचार गर्न पार्टीले बारम्बार गरेको अनुरोधलाई दृष्टिगत गर्दै आयोगले सो बिषय हालको लागि थाति राख्ने निर्णय गरेको हो । आयोगले मागबारे पछि पुनर्विचार गर्ने गरि थाति राखेपछि राप्रपाले संघर्षका कार्यक्रममा पनि स्थागित गरेको जनाएको छ । राप्रपाको सो माग पार्टीको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्य समेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ, राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यद्यपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म विरोध जारी रहने र चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाइने पार्टी प्रबक्ता सुशीलकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया