८ मंसिर २०८३, मंगलबार

कुलमानलाई झट्काः सुदूरपश्चिममा फेरि लोडसेडिंग बढ्यो, स्थानीयबासी आक्रोशित

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ६ वैशाख । सरकारले देशलाई नै लोडसेडिंग मुक्त घोषणा गरेको एक महिना पछि धनगढीमा फेरि लोडसेडिंग बढेको छ ।

चैतको पहिलो साता सरकारले देशबाटै लोडसेडिंग हटेको घोषणा गरेको थियो । शुरुका दिनमा विद्युत आपूर्ति सहज देखिएपनि पछिल्ला दिनहरुमा पुरानै अवस्था रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

कार्यकारी निर्देशकमा कुलमान घिसिंग आएपछि पहिलो चरणमा काठमाडौं उपत्यका लोडसेडिंगमुक्त गराएका थिए । देशलाई नै लोडसेडिंग मुक्त गर्ने अभियान अन्तरगत चैत पहिलो साताबाट देशमा लोडसेडिंग हटेको विद्युत प्राधिकरणले जानकारी गराएको थियो । प्राविधिक कारणले बाहेक अब लोडसेडिंगको तालिका समेत नभएको उर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममा बोल्नुभएको थियो ।

लोडसेडिंग मुक्त गर्ने सरकारी निर्णयबाट धनगढी लगायतका यस क्षेत्रका बासिन्दाहरु खुशी भएका थिए तर पछिल्लो दिनको चर्को लोडसेडिंगकाकारण सरकारी घोषणा सस्तो लोकप्रियताका लागि रहेछ भन्ने देखाएको धनगढीका स्थानीय बासिन्दा विरबहादुर महरा बताउनुहुन्छ । सरकारले नै लोडसेडिंग हट्यो भनेर जनतालाई सूचना दिन अनि अहिले दैनिक घण्टौ लोडसेडिंग गरेर जनजीवन प्रभावित पार्ने काम भएको उहाँको भनाई छ ।

लोडसेडिंगको अन्त्य भएको घोषणा सुन्दा खुशी भएका जनता यतिखेर लोडसेडिंगको चर्को मारले सरकार प्रति आक्रामक हुन थालेका छन् । सम्भव नहुने कामलाई किन बलजवस्ती घोषणा गरेको भन्दै जनताहरु आक्रोशित हुन थालेकाछन् । काठमाण्डौलाई लोडसेडिंग मुक्त गरेर नेपाललाई मुक्त गरेको भन्ने प्रचार गराउन खोजेको भन्दै हाम्रा अगुवाहरु त काठमाडौलाई मात्र नेपाल हो भन्ने मानसिकता राख्ने भएकाले पनि यस्तो प्रचार गरेका हुनकी भन्ने लागेको छ –धनगढीका अर्का बासिन्दा महेश दाहालले बताउनुभयो ।

विहान बेलुकाका लोडसेडिंगका कारण जनजीवन प्रभावित हुनकासाथै विद्युतमा आधारित ब्यावसाय संकटमा पर्न थालेको छ । लोडसेडिंगको मारमा छापाखाना, रेडियोहरु, इलेक्ट्रानिक पसलहरु र मोटर मर्मत केन्द्र लगायतका ब्यवसायहरु प्रभावित भएको स्थानीय ब्यवसायी मनिष शर्माले बताउनुभयो । विद्युत नभएका कारण मर्मतको काम समेत प्रभावित हुने गरेको छ ।

एकातिर लोडसेडिंगको मार छ भने अर्कोतिर विद्युतको लोड कम भएकाले पनि कार्यालय तथा ब्यावसायिक प्रतिष्ठानमा लागइएका एसी तथा पंखाहरु चल्न छोडेको स्थानीय टोपबहादुर केसीले बताउनुभयो । विद्युतको लोडमा देखिएको समस्याले उपकरणहरु विग्रने सम्भावना बढेर गएको छ । धनगढीमा गत वर्षको तुलनामा यस वर्ष गर्मी बढेकाले विद्युतको माग बढेको देखिन्छ ।

आजभोली नै करिब ४० डिग्रीको आसपासमा तापक्रम पुग्न लागेकाले गर्मीले जनजीवन प्रभावित हुने गरेको छ । यस्तो समयमा पनि विद्युत आपूर्ति नियमित नहुने हो भने मानिसहरुलाई समय विताउन निकै कठिन हुने देखिन्छ । विकासको तिब्र गतिमा धनगढी पनि बढेकाले हरेक साल निर्माणको काम बढीरहेको छ । सवैतिर पक्की संरचनाहरु बढ्दै गएको, खेतीयोग्य जमिन घडेरीमा विक्री हुँदै जानथालेपछि हरियालीको मात्रा पनि घट्दै जानथालेपछि गर्मी बढ्न थालेको स्थानीय बासिन्दाहरुको बुझाई छ ।

चार महिना अघि उर्जामन्त्री शर्मा धनगढी पुगेर विद्युत आपूर्तिको बारेमा जानकारी लिनुभएको थियो । प्रमुख शहर मध्येको धनगढी पनि छिट्टै लोडसेडिंग मुक्त हुन घोषणा गर्नुभएको थियो । सोही अनुसार धनगढी पनि लोडसेडिंग मुक्त घोषणा त भयो तर कार्यान्वयनमा समस्या देखिएको छ । हाल भारतको टनकपुरबाट ४० मेगावाट विद्युत आपूर्ति हुँदै अएको छ । सुदूरपश्चिम तथा मध्यपश्चिमसम्म टनकपुरको विद्युत जाने गरेको छ । सुदूरपश्चिमको दार्चुलामा बनेका अपी हाइड्रोको करिब ८ मेगावाटको विद्युत अत्तरिया प्रशारण लाईनमा जडान गरेपनि त्यसको आपूर्ति सुपका पहाडी जिल्लामा हुने गरेको छ । हाल ३० मेगावाटको चमेलिया विद्युत आयोजनाबाट विद्युत उत्पादनको अन्तिम तयारी भइरहेको छ । यो आयोजना सम्पन्न भएमा यस क्षेत्रमा लोडसेडिंग कम हुने सम्भावना बढेको छ ।

तर विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख असुतोष चौधरीका अनुसार टनकपुरबाट विद्युत आपूर्ति कम भएकाले लोडसेडिंग गर्नुपरेको बताउनुभयो । त्यसको विकल्पमा के गर्न सकिन्छ भन्दै माथिल्लो निकाय लागिरहेको उहाँको भनाई छ । विकल्पमा के गर्न सकिन्छ भन्ने बारेमा भारसम्प्रेशण केन्द्र लागिरहेको चौधरीको भनाई छ । हाल क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख पनि केहीदिन देखि काठमाण्डौमा रहनुभएको छ ।