काठमाडौं, ५ वैशाख । विद्यार्थीहरुले शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै सरकारलाई तीनदिने अल्टिमेटम दिएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा आठ विद्यार्थी संगठनले शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै निजी विद्यालयले जथाभावी बढाइरहेको शुल्क नियन्त्रण गर्न माग गरेका हुन् ।
उनीहरुले २०७३ साल वैशाख ७ गते विभिन्न विद्यार्थी संगठन र सरकारबीच भएको सम्झौताको ख्याल नगरी निजी विद्यालयले शुल्क बढाएको भन्दै मनोमानी ढंगले बढाएको शुल्क नघटाए आफूहरु चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्रमा शैक्षिक शत्र सुरु भएसँगै निजी विद्यालयले मनोमानी ढंगले विभिन्न शीर्षकमा बढाएको शुल्क तीन दिनभित्र फिर्ता लिनुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षण बुझाउने विद्यार्थी संगठनहरुमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायत छन् । ‘अहिले निजी विद्यालयले शिक्षण संस्थालाई व्यापारिक केन्द्र जस्तो बनाएका छन्,’ अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले भने, ‘तीन दिनभित्र शुल्क नघटाए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’












प्रतिक्रिया