काठमाडौं, ५ वैशाख । महानायक राजेश हमालले भारत भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीमाथि दिल्लीमा भएको अपमानप्रति दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न भारतले महिला तथा बालिबालिका राज्यमन्त्री (जो कनिष्ट मन्त्री हुन्) कृष्णा राजलाई विमानस्थल पठाएर अपमान गरेपछि नेपालीहरुले चर्काे अलोचना गरिरहेका बेला सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महानायक हमालले असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीबाट ‘रिसिभ’ गरेर भारतले राष्ट्रपति मात्रै नभई देशकै अपमान गरेको भन्दै सामाजिक सञ्जालबाट आलोचनाले भरिएका बेला महानायक हमालले राष्ट्रपतिलाई भारतको त्यस प्रकारको सत्कारले नेपालको सार्वभौम र स्वतन्त्रतामा आँच पुगेको प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्– ‘यो यस्तो परिणाम हो जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन । तर कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्र्तराष्ट्रिय जगतमा छवि कलंकीत मात्र पारेनन्, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारे । सरकारलाई लाज हुने पर्ने ।’
महानायक हमालले सामाजिक सञ्जालमा यसअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएकी नेपालकी राष्ट्रपति भण्डारीको सयुंक्त तस्बिर र सोमबारको तस्बिरलाई पोष्ट गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारीले विमानस्थलमै पुगेर स्वागत गर्नु भएको थियो ।
यस्तो छ राजेश हमालको असन्तुष्टिः
















प्रतिक्रिया