८ मंसिर २०८३, मंगलबार

मैना सुनुवारको मुद्दामा १३ वर्षपछि फैसलाः तीन सैनिक अधिकृतलाई २० बर्ष कैद

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । १३ बर्ष लामो कानूनी लडाईपछि काभ्रे जिल्ला अदालतले मैना सुनुवारको हत्यामा संलग्न तीन जना सैनिक अधिकृतहरुलाई दोषी ठहर गरेको छ । तर, एक जना बहालवाला सैनिक अधिकृतलाई भने सफाई दिएको छ ।

मुद्दाको फैसला सुनाउँदै काभ्रे जिल्ला अदालतले पूर्व सैनिक अधिकृतहरु महासेनानी बबी खत्री, सहसेनानी द्वय अमित पुन र सुनिलप्रसाद अधिकारीलाई मैना सुनुवारको मुद्दामा दोषी ठहर गरी जनही २० बर्ष कैद सजाय सुनाएको हो । बहालवाला सैनिक अधिकृत सेनानी निरन्जन बस्नेतलाई भने अदालतले सफाई दिएको छ ।

उनीहरुलाई अदालतको आदेश बमोजिम पक्राउ गरी जेल हालिन्छ कि हालिन्न भन्ने हेर्न बाँकी छ । मैनाकी आमा देबी सुनुवारले २०६२ कात्तिक २७ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दर्ता गरेकी थिइन् । लामो समयसम्म जाहेरी उपर कुनै कारबाही नभएपछि उनीे बाध्य भएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेकी थिइन् ।

२०६४ असोज १ मा सर्वोच्च अदालतले ३ महिनाभित्र अनुसन्धान पूरा गर्न आदेश दिएको थियो । काभ्रे जिल्ला सरकारी वकिलको कार्यालयले २०६४ माघ १७ मा अभियुक्तहरुलाई जन्मकैदको मागदाबी गर्दै काभ्रे जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । काभ्रे जिल्ला अदालतले २०६४ फागुन ०२ मा अभियुक्तहरुलाई पक्राउ गर्ने आदेश जारी गरेपनि अभियुक्तहरु फरार थिए ।

२०७० असोज ०१ मा न्यायाधिश ईश्वरराज आचार्यको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने निर्णय गरेको थियो । तर पीडितकी आमाले उक्त आदेशलाई चुनौती दिएकी थिइन । फलस्वरुप २०७२ पौष २८ मा न्यायाधिश मैनाली (भट्टराई) को इजलासले मुद्दालाई जगाउने फैसला गरेको थियो । विभिन्न कारणले धेरै पटक मुद्दाको सुनुवाई सरेपनि काभ्रे जिल्ला अदालतले माथि उल्लेखित अभियुक्तहरुलाई मैना सुनुवारको हत्यामा दोषी ठहर गरेको छ ।

मैनाकी आमा देबी सुनुवारले अदालतको यस फैसलाले न्यायको आशा जगाएको भएपनि एक जना सैनिकले सफाई पाएकामा कारण खोजेकी छन् ।

उनले एक सैनिकले पाएको सफाईको कानूनी आधारमा विश्लेषण दिन अनुरोध गरेकी छन् । उनले आफ्नी छोरीको आत्मासँग हत्यारालाई दोषी करार नगर्दासम्म उनको अन्तिम संस्कार नगर्ने प्रतिज्ञा गरेकोसमेत बताएकी छन् ।

उनले अझै पनि यसअघिजस्तै यो फैसला पनि कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेकी छन् । उनले अदालतको आदेशको शिघ्र पालना गर्न माग गरेकी छन् ।

एड्भोकेसी फोरमकी संस्थापक मन्दिरा शर्माले यस मुद्दालाई एक दशक भन्दा बढि समयदेखि अनुगमन गरी कानूनी सहायता प्रदान गर्दै आइरहेको बताइन् । पीडित परिवारलाई कानूनी सहायता मात्र नभई पक्राउको समयदेखि नै उनको परिवारको न्यायको लडाईमा साथ दिएको बताइन् ।

‘यस मुद्दामा हामीले १३ बर्षसम्म पीडादायी कानूनी लडाई लड्यौं,’ उनले भनिन्– ‘द्वन्द्वकालमा एड्भोकेसी फोरमले हजारौं पीडितहरुको घटनाको अभिलेखिकरण गरी कानूनी सहायता प्रदान गर्दै अधिकांश मुद्दामा कानूनी प्रतिनिधित्व गर्दै आएको छ । मैना सुनुवारको मुद्दा त्यस मध्येको एक हो । हाम्रो निरन्तर प्रयासका बावजुद पीडकहरुलाई कानूनी दायरामा ल्याउन सकिएको छैन् । नेपालमा व्याप्त दण्डहिनता र यसले प्रजातान्त्रिक नेपालको मुख्य धरोहर कानूनी शासनमा पारेको असरले हामीलाई मर्माहत बनाएको छ । यस सन्दर्भमा मैनाको मुद्दामा भएको फैसला हाम्रा लागि ठूलो उपलब्धी हो । यसले कानून भन्दा माथि कोही हुनुहुँदैन भन्ने हाम्रो अभियानमा उर्जा थपेको छ ।’

फोरमका निर्देशक ओमप्रकाश सेनले अदालतको निर्णयले मैना जस्ता मानव अधिकार हनन्का पीडितहरुलाई देश भित्रै न्याय प्राप्त गर्न सम्भव छ भन्ने केहि आशा दिएको बताए ।