भीमदत्तनगर, ४ वैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन आयोगको तयारी र सुुरक्षा प्रबन्धका कारण तोकिएकै मिति (वैशाख ३१ गते) चुनाव हुननसक्ने आशय व्यक्त गरिरहेका बेला मन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।
उसो त थापाले उपप्रमको वरियतामा निधिलाई पन्छाएर काउन्टर दिइसकेका छन् । र, चुनाव गराएर पुनः निधिलाई काउन्टर दिने तयारीअन्तर्गत थापाको यो प्रतिक्रिया आएको बताइन्छ ।
निर्वाचन तयारीकै सिलसिलामा कञ्चनपुर आइपुगेका मन्त्री थापाले भीमदत्तनगरमा यहाँका नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिएका छन् ।
जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उनले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए । ‘जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्,’ मन्त्री थापाले निर्देशन दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ ।















प्रतिक्रिया