
काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकाले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । उनले मोर्चाका नेतालाई चुनावमा जान नडाउन आग्रह गरे ।
उनले आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेशी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर दाबी प्रमाणित गरेर देखाउन चूनौति दिए । उनले भने,‘जनताको मत लिनको लागि किन तयार नहुने ? अनि चुनावको मुखमा आएर हुन दिन्नौं भनेर धम्की दिनु भनेको मोर्चा जनताको पक्षमा छैन् भन्ने बुझिन्छ ।’ उनले मोर्चा तथा संघीय गठबन्धनको आमहड्तालसहित आन्दोलन गर्ने निर्णय मधेशी जनताको हितमा पनि नभएको स्पष्ट पारे ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष रावलले सरकारले मोर्चाको माग सम्बोधन गर्नको लागि ल्याएको नयाँ संशोधन प्रस्तावलाई मोर्चाले अस्विकार गरिसकेकाले संशोधन के को लागि ल्याएको हो भनेर प्रश्न गरे । उनले यो प्रस्तावको बारे अहिलेसम्म केही बुझ्नै नसकेको बताए ।
उनले सरकारले प्रस्ताव ल्याउनुपूर्व एमाले र मोर्चासँग सहमति गरेर ल्याएको दाबी गरेपनि उक्त दाबीमा कुनै सत्यता नै नभएको जिकिर गरे । उनले वर्तमान सरकारका एक उपप्रधानमन्त्रीले एमालेले प्रस्ताव अस्विकार गरेको कारण समस्या समाधान नहुने भयो भनेर सार्वजकि अभिव्यक्ति दिएको आरोप लगाउँदै भने,‘एमालेको नाम देखाएर जनतामा भ्रम फैलाईएको छ, प्रस्ताव ल्याउनुपुर्व हामीसँग कुनैपनि छलफल तथा सहमति भएको छैन ।’











प्रतिक्रिया