
काठमाडौं, ३ बैशाख । नेकपा एमाले स्थानीय तह निर्वाचन केन्द्रीय समन्वय तथा अनुगमन समितिको बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको छ ।
पार्टी महासचिव तथा समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सातवटै प्रदेशमा स्थानीय तहको निर्वाचनसम्बन्धी तयारीका बारेमा समीक्षा गरेको छ ।
सबै तहमा निर्वाचन परिचालन कमिटी गठन भई निर्वाचनसम्बन्धी आन्तरिक कामहरु अगाडि बढिरहेको, विभिन्न उपसमितिहरु निर्माण भई तोकिएका जिम्मेवारीको कामहरु भइरहेको बारेमा समीक्षा भएको छ । त्यस्तै, पार्टीको केन्द्रीय सर्कुलर अनुसार स्थानीय कमिटीहरुको पुनःसंरचनाको काम करिब–करिब सम्पन्न भएको, पार्टीको सबै पंक्ति निर्वाचनमा उत्साहजनक रुपमा क्रियाशील रहेको निष्कर्ष निकालिएको छ । ।
बैठकले थप निर्णय गर्दै बैशाख ७ गतेभित्र प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन प्रचार समितिहरु निर्माण गरिसक्ने निर्णय गरेको छ । समितिमा कमिटीले तोकिएको जिम्मेवार व्यक्ति संयोजक रहने र सञ्चारकर्मी, बुद्धिजीवी र अनुभवी र विज्ञहरुलाई समावेश गरी प्रचार समिति बनाउन बैठकले सबै मातहत कमिटीहरुलाई निर्देशन जारी गरेको छ ।
बैठकले स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनी तथा प्राविधिक विषयहरुमा सबै तहमा प्रशिक्षण तथा तालिम सञ्चालन गर्न समेत मातहत कमिटीहरुलाई निर्देशन जारी गरेको छ । समितिको अर्को बैठक बैशाख ६ गते बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।











प्रतिक्रिया