८ मंसिर २०८३, मंगलबार

मोर्चा पनि शक्ति हो, दुई चरणमा चुनाव गरौँ : गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले दुई चरणमा निर्वाचन गर्नका लागि सम्वाद चलिरहेको बताएका छन् ।

संसदको राज्यव्यवस्था समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै गृहमन्त्री निधिले मधेसी मोर्चासहितका दलहरूलाई निर्वाचनमा सहभागी गराउन छलफल चलिरहेको बताए । ‘कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चा मुलुकका प्रमुख शक्ति हुन्’, उनले भने, ‘यीमध्ये कुनै पनि शक्तिलाई बाहिर राखेर चुनाव हुँदैन । मधेसी मोर्चाले मधेसी जनताको आवाज बोकेका छन् ।’

गृहमन्त्री निधिले प्रमुख दलहरूबीचको सहमति महत्वपूर्ण रहेको बताउँदै भने, ‘मधेसी मोर्चाले बचन दिएपछि सरकारले पुरानो संशोधनको विधेयकलाई फिर्ता लिएर नयाँ संशोधन विधेयक दर्ता गराएको हो ।’ उनले मोर्चालाई निर्वाचनमा सहभागी गराउन कुरा भइरहेको दोहो¥याए ।

सहमतिका लागि मधेसी मोर्चा र एमाले लचक बन्नु पर्ने उनले बताए । निधिले भने, ‘एमाले र मधेसी मोर्चा सम्वेदनशील भएनन् भने निर्वाचन हुन सक्दैन ।’ उनले संविधान संशोधनको विधेयक स्थानीय तहको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भनेर पनि कुराकानी भइरहेको उल्लेख गरे ।

मुलुकको परिवर्तित राजनीतिक अवस्थाले गर्दा स्थानीय तहको निर्वाचन एकै चरणमा हुन सक्दैन भनेर सबै दलहरूले भन्ने गरेको गृहमन्त्री निधिले बताए । ‘सबै दलहरूले एकै चरणमा चुनाव हुँदैन भनिरहेका छन्’, उनले भने, ‘असहमतिमा एकै चरणको चुनाव गर्ने कि सहमतिमा दुई चरणमा चुनाव गर्ने ? बरु सहमतिमा दुई चरणको चुनाव गर्दा राम्रो हुन्छ । त्यतातिर जानुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतपत्र छपाईमा गइसकेकाले स्वतन्त्र उम्मेदवारलाई कुनै पनि हालतमा मुलुकभरि एउटै चुनाव चिन्हमा दिन नसकिने बताए । ‘मतपत्र छपाईमा गइसक्यो’, उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई मुलुकभरि एउटा चुनाव चिन्ह दिन सकिँदैन ।’

प्रमुख निर्वाचन आयुक्त यादवले प्रमुख दलका नेताहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।