
काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाख पहिलो साता भित्रै स्थानीय तहको निर्वाचनको घोषणा–पत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैशाख पहिलो साता भित्र चुनावी घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिएका छन् । घोषणा पत्र तयार गर्नका लागि सुझाव संकलनको काम पनि अन्तिम चरणमा पुगेको बताए । उनले अब एमाले सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको पनि उल्लेख गरे ।
एमालेले घोषणा पत्र निर्माणका लागि पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतम नेतृत्वको घोषणा पत्र मस्यौदा समिति नै बनाएर तयारीको कामलाई तीव्रता दिएको छ । उनले बैशाख १२ गते भित्र देशभरका सबै स्थानीय तहको उम्मेदवार तय गरिसक्ने पार्टीको यस अघिकै निर्णय पनि स्मरण गराए ।
एमालेले उम्मेदवार चयनका लागि आवश्यक मादपण्ड र कार्यविधि नै तयार गरेको छ । लोकप्रिय, इमान्दार, योग्य व्यक्तिलाई उम्मेदवारी दिने मापददण्ड भित्रै रहेर उम्मेदवार चयनको काम भइरहेको पनि उनले जानकारी दिए ।
एमालेले स्थानीय तहको निर्वाचनको महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मेवारी केन्द्रिय कमिटीलाई दिएको छ । एमालेले निर्वाचनलाई प्रभावकारी ढंगले संचालन गर्नका लागि पार्टीका महासचिव ईश्वर पोखरेल नेतृत्वको अनुगमन टोली पनि बनाएको छ ।











प्रतिक्रिया