
काठमाडौं, २ बैशाख । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सर्बोच्च अदालतले बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेशले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जनयुद्धकालीन मुद्दा ब्युँझाएर बालकृष्ण ढुंगेलमाथि फैसला गरी सातदिने पक्राउपुर्जी समेत जारी गरिएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो ।
पार्टी अध्यक्ष मोहन बैद्यले जारी गरेको विज्ञप्तिमा ‘बृहत शान्तिसंझौताअनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फवाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्ष्वितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुईवटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि न गरिएको यथार्थ स्पष्ट नै छ’ भनिएको छ ।
बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनयुद्धको नेतृत्व गरेको एउटा हिस्सा सरकार प्रमुख हुनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मार्फत वैद्यले बृहत शान्ति संझौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी मुद्दा आयोग मार्फत् मेलमिलाप गर्न माग समेत गरेका छन् ।











प्रतिक्रिया