१४ कार्तिक २०८३, शनिबार

महिला बेचविखनमा आफन्तको प्रयोग, थाहै नपाई दलालको पासोमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

भैरहवा, १ वैशाख । गाउँमै मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी सिन्धुपाल्चोक कर्थली–३ की ४५ वर्षीया सीता भट्टराई (परिवर्तित नाम) लाई गाउँकै नेकोर मगरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने प्रस्ताव राखे ।

छोरीको विवाहको ऋणसमेत तिर्न नसकेकी र घरको सबै जिम्मेवारी आफैं वहन गर्दै आएकी सीताले उनको प्रस्ताव खुसीसाथ स्विकारिन् । राजधानी दैनिकले समाचार छापेको छ ।

सीताले प्रस्ताव स्विकारेपछि राहदानी बनाई कुवेत उडाउने जिम्मा मगरले लिए । उनलाई भारत पुगाउने र त्यहाँबाट कुवेत उडाउने कामको जिम्मा सर्लाही घर भई काठमाडौं बस्ने तुलबहादुर दवाडी (सीताराम दवाडी भनेर चिनिने) र सूर्यबहादुर दवाडी (राजु दवाडी भनेर चिनिने)ले लिए ।

त्यसपछि गत २६ फागुनमा उनलाई रूपन्देहीको बेलहिया हुँदै भारत लगिँदै थियो । तर, महिला हिंसा तथा चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था केआई नेपालले उनलाई रोक्यो । अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जान लागेको खुलेपछि पीडितकै जाहेरीका आधारमा तुलबहादुर र सूर्यबहादुरविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भयो ।

फिक्कल–८ इलामकी मीराकुमारी राई (परिवर्तित नाम)को पनि त्यसैगरी, भारत हुँदै कुवेत जान लाग्दा बेलहियाबाट उद्धार भयो । बेलहिया नाका हुँदै भारत जाने र भारतबाट अवैध रूपमा तेस्रो मुलुक जाना लागेका यी दुई उदाहरण हुन्, जसको उद्धार भएको छ । केआई नेपालकै तथ्यांक हेर्दा अवैध बाटो हुँदै वैदेशिक रोजगारीका नाममा भारत जान लागेका ५४ जनालाई जनवरी, फेबु्रअरी र मार्च महिनामा उद्धार गरिएको छ । तर, विभिन्न बहाना गर्दै भारत जाने युवती तथा महिलाहरूको संख्या भने योभन्दा बढी छ ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविन विष्टले भिजिट भिसामा खाडी मुलुकमा जान सरकारले प्रतिबन्ध लगाएपछि दलालहरूले स्थलमार्ग हुँदै भारत लगी त्यहाँबाट खाडी मुलुक पठाउने गरेको बताए । दलालसँग आउँदा पक्राउ परिने र भारत छिर्न अप्ठ्यारो पर्न थालेपछि पछिल्ला दिनमा दलालहरूले युवती तथा महिलाहरूलाई भारत छिराउने तरिकासमेत फेरेका छन् ।

‘सीमा पार गराउनका लागि पीडितका बाबुआमा, दाजुभाइलगायतका आफन्तहरू नै सीमासम्म आउन थालेको पाइएको उनले बताए । केआई नेपाल रूपन्देहीकी संयोजक उषा गुरुङका अनुसार आफ्नो छोरी या बहिनी भारत हुँदै तेस्रो मुलुक जान लागेको भए पनि बाबुआमा या सँगै आएका दाजुभाइले आफन्त भारतमा रहेको र भारत जान लागेको भनेर जिद्दी गर्छन् । ‘दलालको लोभ र भरोसामा परेका उनीहरूले दलालले अह्राएको कुरा गर्दै भारत नै जान लागेको भनेर ढिपी छाड्दैनन्,’ उनले भनिन्, ‘तर लामो समयसम्म सोधपुछ र परामर्श दिएपछि मात्र यथार्थ खुल्छ ।’

भारत जान लागेका आफ्ना चेलीहरूलाई सीमा पार गराउन दैनिकजसो चार÷पाँचजना नै आउने गरेको उनले बताइन् । भारतीय बजार सुनौलीमा किनमेल गर्न जान लागेको तथा भारतमा आफ्न्त भेट्न जान लागेको, आफूहरू श्रीमान्–श्रीमती भएको भन्दै दलालको प्रलोभवनमा परी भारत जानेमाथि कडाइ हुन थालेपछि पछिल्लो समय आफन्तहरू नै नाता प्रमाणित भएको कागजात लिएर आफ्नै चेलीबेटीलाई अवैध बाटो हुँदै खाडी मुलुक तथा भारत पुगाउन सीमामै आउन थालेका हुन् भने दलालहरूले सीमा पार गराउने नयाँ जुक्ति निकाल्दै आफन्तलाई नै प्रयोग गर्न थालेका हुन् ।

गैरकानुनी रूपमा भारत हुँदै खाडीलगायतका मुलुकमा प्रवेश गर्न नपाउने भन्ने उद्देश्यले सीमा क्षेत्रमा रहेका गैरसरकारी संस्थाहरूसँग समेत समन्वय गरी चेकजाँच तथा परामर्शमा कडाइ गरिएको प्रहरी निरीक्षक विष्टले बताए ।

विनाशकारी महाभूकम्पपछि तहसनहस भएका गोर्खा, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाहरूका किशोरकिशोरी तथा महिलाहरूलाई टार्गेटमा राखेर काम गरिरहेका दलालहरू अहिले पनि तिनै जिल्लाहरूलाई मुख्य टार्गेट बनाएका छन् ।

पछिल्लो तीन महिनामा बेलहियामा परामर्श दिइएका ७ सय ३३ तथा घर फिर्ता गरिएका ५४ र तालिम केन्द्र पठाइएका दुईजना मध्ये अधिकांश भूकम्प प्रभावित जिल्लाका किशोरी तथा महिला रहेको संयोजक गुरुङले बताइन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित मुलुकहरूमा लैजान नपाएपछि दलालहरूले भारतको दिल्लीबाट उडाउने गरेका छन् ।

यसरी, वैदेशिक रोजगारमा जाने किशोरी तथा महिलाहरू देहव्यापार लगाउने, उनीहरूका अंग झिक्नेजस्ता समस्यामा पर्दै आएका छन् ।