१४ कार्तिक २०८३, शनिबार

दोब्बर मतअन्तरले हराउँदै गोल्छा विजयी, राणाले रचिन इतिहाँस

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् ।

मङ्गलबार सम्पन्न महासङ्घको ५१औँ साधारणसभामा गोल्छाले आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरेका हुन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

गत कात्तिक महिनामा महासङ्घको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने व्यवस्था भएपछि यसपटक वरिष्ठ उपाध्यक्षलाई प्रमुख पद मानेर निर्वाचन गरिएको हो ।

निर्वाचनमा गोल्छाले कुल मतको ६३.३० प्रतिशत आफ्नो पक्षमा पार्नुभएको थियो । प्रतिस्पर्धी प्रधानले ३६.७० प्रतिशत मत प्राप्त गर्नुभएको थियो । निर्वाचन क्षेत्रहरू जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फको कुल मतलाई एक सय प्रतिशत मानेर त्यसैको अनुपातमा नतिजा प्रकाशन गर्ने प्रणाली महासङ्घको रहेको छ ।

गोल्छाले वस्तुगतर्फ ४७ भोट अर्थात् ९.५९ प्रतिशत, जिल्ला नगरतर्फ ६१ मत अर्थात् २९.६१ प्रतिशत र एसोसिएटतर्फ ५०४ अर्थात् २४.१० प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रधानले वस्तुगततर्फ ५१ भोट अर्थात् १०।४१ प्रतिशत, जिल्ला नगरतर्फ ४२ भोट अर्थात् २०।३६ प्रतिशत र एसोसिएटतर्फ १२३ अर्थात् ५।९० प्रतिशत मत प्राप्त गर्न सफल भए । वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, वस्तुगतको ३० प्रतिशत र एसोसिएटतर्फको २० प्रतिशत मतभार हुने गर्छ । ‘वेटिङ पे्रसिडेन्ट’का रूपमा वरिष्ठ उपाध्यक्ष रहने भएकाले महासङ्घमा यो पदलाई विशेष महत्वका हिसाबले हेर्ने गरिन्छ ।

बिहान ८ बजेदेखि १ बजेसम्म प्रज्ञाप्रतिष्ठानमा भएको निर्वाचनले जिल्ला नगर, वस्तुगततर्फका उपाध्यक्ष र कार्यसमिति सदस्यसमेत चयन गरेको छ । कुल १०४ मत रहने जिल्ला नगरको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रधान समूहका श्रेष्ठले प्रतिस्पर्धी गोल्छा समूहका दिनेश श्रेष्ठभन्दा सात मत बढी प्राप्त गर्नुभएको थियो ।

निर्वाचन समितिका अनुसार प्रमोद श्रेष्ठले ५५ र दिनेश श्रेष्ठले ४८ मत प्राप्त गर्नुभएको थियो । जिल्ला नगरतर्फको कार्यसमिति सदस्यमा उमेश डाल्मिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, दीपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, धु्रव श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, नीरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, राजकुमार न्यौपाने, कल्याण जोशी निर्वाचित भए ।

समान ५८ मत प्राप्त गर्नुभएका सुदर्शन कार्की र देवकुमार श्रेष्ठले आधाआधा कार्यकाल जिम्मेवारी सम्हाल्ने सहमति गरेका छन् । जिल्ला नगरको १८ पदका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।

वस्तुगततर्फको उपाध्यक्षमा गोल्छा समूहका उमेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीहरू शङ्करप्रसाद पाण्डे र अनुप मल्ललाई पराजित गरे । कुल ९९ मत रहने वस्तुगतमा श्रेष्ठले ४९, पाण्डेले ३८ र मल्लले ११ मत प्राप्त गरेका थिए । पाण्डे प्रधान समूहका उम्मेदवार थिए । मल्लले भने स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

वस्तुगततर्फको कार्यसमिति सदस्यमा अञ्जन श्रेष्ठ, सन्दिपकुमार अग्रवाल, प्रकाशसिंह कार्की, शकुन्तलाल हिराचन, शिवप्रसाद घिमिरे, आकाश अधिकारी, विनोद ढकाल, डा तिलचन्द्र भट्टराई, कमला श्रेष्ठ, जयप्रसाद शिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल, रविनकुमार श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

समान ५० मत प्राप्त गरेका चार उम्मेदवारमध्ये गोलाप्रथामार्फत रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ निर्वाचित भएका हुन् । वस्तुगततर्फ १४ पदका लागि २७ जनाको उम्मेदवारी परेको थियो ।

एसोसिएटतर्फको उपाध्यक्षमा यसअघि नै आईएमई गु्रपका चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भए । एसोसिएटको १९ सदस्यीय कार्यसमितिमा ओमबहादुर राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, अशोककुमार तोदी, प्रबलजङ्ग पाण्डे, गोपाल खनाल, सौरभ ज्योति, भरतराज आचार्य, विजय वैद्य, मङ्गेशलाल श्रेष्ठ, आनन्दकुमार बगरिया, साहिल अग्रवाल, रञ्जित आचार्य, सुनिलनारायण श्रेष्ठ, अशोक टेमानी, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, ज्योत्स्ना श्रेष्ठ, कृष्णप्रसाद दुलाल र मनीषकुमार अग्रवाल छन् । निर्वाचित पदाधिकारीलाई बुधबार पदभार तथा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

राणा महासङ्घ अध्यक्ष

महासङ्घको अध्यक्षमा भवानी राणा स्वतः अध्यक्ष भएकी छन् । गत कात्तिक ४ गते महासङ्घको विशेष साधारणसभाले विधान संशोधनमार्फत वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष गर्ने व्यवस्था गरेपछि राणा अध्यक्ष चयन भएकी हुन् । उनी महासङ्घको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् ।