१४ कार्तिक २०८३, शनिबार

यी हुन् डलर तस्करी गर्ने नेपाल एयरलाइन्सका पाइलट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । डलर र सुन तस्करीमा संलग्न गिरोहले विमानस्थलका कर्मचारी मात्र नभई पाइलटहरूलाई समेत प्रयोग गर्न थालेका छन् ।

नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले तस्करीको ९३ हजार ६ सय अमेरिकी डलरसहित आइतबार बेलुका पक्राउ परेका छन् । सो डलर उनले दुबई लैजान लागेका थिए । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा चेकजाँचको क्रममा क्याप्टेन अवाले पक्राउ परेको विमानस्थल प्रहरीका डिआइजी पंकज श्रेष्ठले बताए । नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९ नम्बरको विमान चलाएर उनी दुबई जान लागेका थिए । उनको हातेझोला चेकजा“च गर्दा अवैध डलर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि अवालेलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ । उनी अहिले थुनामा छन् ।

क्याप्टेन अवालेलाई कसले डलर दिएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । सुन र डलरको तस्करीमा संलग्न गिरोहले नै आर्थिक प्रभावमा पारी उनलाई तस्करीमा लगाएको प्रहरी अनुमान छ । तर, विस्तृत अनुसन्धान नगरी नै अवालेलाई राजस्वमा बुझाएकाले तस्करहरूले उन्मुक्ति पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

प्रहरीका अनुसार नेपालबाट दुबईमा डलर तस्करी गर्दा एक हजारको झन्डै एक सय डलर फाइदा हुने गर्छ । सोही कारण नेपालबाट डलर तस्करी हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । सुनलगायत अवैध सामानको तस्करीमा संलग्न गिरोहले कारोबार मिलाउन पनि यसरी डलर तस्करी गर्ने गर्छन् ।

तस्करीमा कर्मचारीकै मिलेमतो

गत महिना विमानस्थलकै एसएसपी श्याम खत्री र तीन भन्सार कर्मचारी सुन तस्करीको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा डेढ वर्षदेखि उनीहरूले सुन तस्करी गर्दै आएको खुलेको थियो । सोही समूहले सेटिङ मिलाएर डलरको तस्करीसमेत गर्दै आएको प्रहरी अनुमान छ ।

विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा तस्करीका घटना बारम्बार भएका छन् । गत वर्ष १९ असारमा नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्ट र सिनियर टेक्निसियन सुरेशकुमार दास चार हजार डलरसहित पक्राउ परेका थिए । मानवतस्करी समूहलाई सहयोग गरेबपात उनीहरूले सो रकम पाएको खुलेको थियो ।

विमानस्थलमा पसल सञ्चालकदेखि सफा गर्ने कर्मचारीसम्म पटक–पटक अवैध सामान ओसारपसारमा संलग्न हुने गरेका छन् । विमानस्थलमा सफाइको काम गर्ने भरत सञ्जेल गत असारमा ८ हजार डलरसहित पक्राउ परेका थिए ।

विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठको मिलेमतोमा ०६८ असोजमा डलर तस्करी भएको थियो । तस्करीमा मिलेमतो पुष्टि भएपछि श्रेष्ठ प्रहरी सेवाबाट बर्खास्त भएका थिए । विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा सभासद्को रातो पासपोर्टमा मानवतस्करी भएको थियो । मानवतस्करीको घटनामा बारम्बार कर्मचारीहरू पक्राउ पर्दै आएका छन् ।