काठमाडौं, २८ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको दोस्रो वरीयता आफूले पाउनुपर्ने अडानबाट पछि हटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि निधि अर्का उपप्रधानमन्त्री कमल थापापछिको वरीयतामा बस्न राजी भएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
देउवाले निर्वाचनको संघारमा विवाद गर्नु जायज नहुने र कार्यकर्ता तथा मतदातामा समेत नकारात्मक सन्देश जाने भन्दै राप्रपा अध्यक्ष कमल थापापछिको वरीयता स्वीकार गर्न निधिलाई निर्देशन दिएका थिए ।
सो निर्देशनपछि निधिले वरीयता विवादको विषयमा लचिलो हुने संकेत दिएका हुन् । योसँगै सोमबारका लागि डाकिएको मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना बढेको छ ।
सभापति देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले निधिलाई बोलाएर सरकारमा दोस्रो वरीयतामा को रहने भन्ने विषयमा पहिले नै सहमति भइसकेको र अब त्यसमा विवाद गर्नु जायज नहुने भन्दै अडान नलिन निधिलाई आग्रह गरेका थिए ।
सो क्रममा देउवाले निधिलाई वरीयताको विवादमा राजीनामा नदिनसमेत आग्रह गर्दै स्थानीय तहको निर्वाचनअघि हतारमा राजीनामा गर्नुले संविधान संशोधन र चुनावी प्रक्रियामै समस्या आउन सक्ने भन्दै रोकेका हुन् ।
उनका अनुसार दोस्रो वरीयतामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालाई नै राख्ने सहमतिअनुसार सरकारमा भित्र्याइएको र त्यसैका कारण पनि विवाद गर्नु उचित नहुने देउवाले बताएका थिए ।
त्यसक्रममा देउवाले निधिलाई वर्तमान सरकार निर्वाचन गराउनकै लागि प्रमुख दल कांग्रेससहितको समर्थनमा निर्माण भएको र निर्वाचनपछिको सहमतिलाई पनि निरन्तरता दिनुपर्ने भएकाले बखेडामा अल्झन नहुने बताएका थिए ।
त्यसपछि मात्र निधि दोस्रो वरीयताको अडानबाट पछि हटेका हुन् । त्यसक्रममा देउवाले निधिलाई पार्टीको उपसभापतिमा मनोनीत गर्ने आश्वासनसमेत दिएको स्रोतको दाबी छ ।
निधिनिकट स्रोतका अनुसार देउवाको आग्रहपछि उनी दोस्रो वरीयताको अडानबाट पछि हटेका हुन् । त्यसपछि निधिले आफूनिकटका नेताहरूसँग आफू पार्टी सभापति देउवा र प्रधानमन्त्री दाहालको सुझावअनुसार अघि बढ्न तयार रहेको बताएका छन् । तर, मन्त्रिपरिषद्को बैठकमा भने निधि सम्भवतः सहभागी हुनेछैनन् ।
३ चैतमा निधि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री दाहालले थापालाई मन्त्रिपरिषद्को दोस्रो वरीयतामा राखेका थिए । त्यसपछि निधिले निर्णय नसच्चिए राजीनामा दिने अडान लिँदै आएका थिए । उपप्रधानमन्त्रीद्वय निधि र कमल थापाबीचको वरीयता विवादका कारण ३ चैतयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिलगायत मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णय तीन सातादेखि रोकिएका छन् । फागुन अन्तिम साता सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि सरकार अल्पमतमा पर्न सक्ने खतरा टार्दै राप्रपा अध्यक्ष थापालाई सरकारमा सामेल गरिएको थियो ।
यसक्रममा उनलाई दोस्रो वरीयता दिन दाहाल र देउवा दुवै सहमत भएका थिए । तर, निधिले भने यसमा असहमति जनाउँदै सो निर्णय सच्याउन आग्रह गर्दै आएका थिए । ठूलो दलका नेताको हैसियतमा आफूलाई थापाभन्दा माथिको वरीयतामा राखिनुपर्ने उनको भनाइ रहँदै आएको थियो । यस विषयमा दाहाल, देउवा र निधिबीच पटक–पटक कुराकानीसमेत भएको थियो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कतिपय कांग्रेस नेता तथा सांसदहरूले भने वरीयताको विषय निधिको व्यक्तिगत कुरा नभएर सिंगो पार्टीको प्रतिष्ठासँग जोडिएको भन्दै सभापतिसँग विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै आएका थिए ।












प्रतिक्रिया