३० आश्विन २०८३, शुक्रबार

नेपाल आउन चाहन्छन् चिनियाँ राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chiniya-ratrapati_mahendra-pandey

हङकङ, १४ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल-चीन कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ पारेर सन् २०१५ भित्रै नेपाल भ्रमण निम्ति इच्छुक देखिएका छन्। संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र समकक्षी वाङ यीबीच शनिबार भएको साइडलाइन भेटवार्तामा चिनियाँ पक्षले यस्तो जानकारी गराएको हो।

‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने सम्भावना बलियो भएको छ,’ मन्त्री पाण्डेले कान्तिपुरसित टेलिफोनमा भने, ‘दुईपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण र विशेष होस् भन्ने उहाँहरूको चाहना छ।’ मन्त्री पाण्डे र चिनियाँ समकक्षीबीचको यो पहिलो भेट हो।

सन् १९९६ डिसेम्बरमा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले भ्रमण गरेयता अर्का राष्ट्रपति नेपाल पुगेका छैनन्। नेपाललाई नजिकबाट बुझेका भनी चिनिएका निवर्तमान राष्ट्रपति हु जिन्ताओलाई १० वर्षे लामो कार्यकालमा समेत भ्रमणको अवसर जुरेन। जेमिनअघि सन् १९८४ मार्च १९ देखि २१ सम्म तत्कालीन राष्ट्रपति ली जियानिनले नेपाल भ्रमण गरेका थिए। सन् २०१२ जनवरीमा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपाल भ्रमण गरेका थिए। प्रधानमन्त्रीले सरकार प्रमुखका हैसियतमा दैनिक कार्य सञ्चालन गर्ने भए पनि चीनमा पार्टी, सेना र राष्ट्रप्रमुखको समेत भूमिकामा रहने राष्ट्रपति सर्वोच्च शक्तिशाली पद हो।

चिनियाँ समाचार एजेन्सी सिन्हाले ६० आंै वर्षगाँठलाई विशेष बनाउन दुवै मुलुक सहमत भएको उल्लेख गरेको छ। ‘चीनले यसलाई एउटा अवसरका रूपमा लिनेछ,’ मन्त्रीको वाङको भनाइ उद्धृत गर्दै सिन्हाले लेखेको छ, ‘दुई मुलुकको सम्बन्ध अझ प्रगाढ र नयाँ उचाइमा पुर्‍याउन उच्चस्तरीय अन्तक्रिर्या, गहिरो व्यावहारिक सहयोग, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न चीन व्यापक सहकार्य र साझेदारी चाहन्छ।’

नेपाल-चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। हालै राष्ट्रपति सीले तीन दक्षिण एसियाली मुलुक भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गरेका थिए। आउँदो वर्ष बाँकी दक्षिण एसियाली मुलुकहरू भ्रमण योजनामा रहेको बताइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। ‘यसैले पनि आगामी वर्ष चीनबाट अति उच्चस्तरीय भ्रमण हुने अत्यन्तै राम्रो सम्भावना छ,’ चीनका लागि नेपाली राजदूत महेश मास्केले भने। आजको कान्तिपुर दैनिकमा समाचार छ ।