दसैँ मूलत: हिन्दू चाड हो । नेपाली समाजको हिन्दूकरणपछि यो सबै नेपालीको चाड भएको हो । जनजाति अधिकारकर्मी दुर्गाहाङ याख्खा राईका अनुसार जंगबहादुर राणा प्रधानमन्त्री बनेपछि गैरहिन्दू किरात समाजका अगुवा रामलीहाङ र रिदामाको हत्या गरी त्यही समाजमा जबर्जस्ती दसैँ मान्न लगाइएको थियो । जनजाति मगर थापामगर हुँदै पक्का क्षेत्री ‘थापा’ हुने प्रवृत्तिमा पनि यही पराजयबोधले भूमिका खेलेको छ । समाजशास्त्री सुरेश ढकालका अनुसार पृथ्वीनारायणले काठमाडौँ जितेपछि गोरखाली राज्यको शान भरथेग गर्न विशेष राजनीतिक महत्वाकांक्षासाथ दसैँ भित्र्याइएको थियो । हनुमान ढोकामा भित्र्याउन गोरखा दरबारबाट फूलपाती ओसार्ने र बढाइँ गर्ने चलनले यसैलाई पुष्टि गर्छ ।
गोरखाली शासकले लिम्बुवान कब्जा गरेपछि लिम्बुले पनि दसैँ मान्नुपर्ने, देवीलाई बलि दिनुपर्ने अन्यथा राजाज्ञा उल्लंघन गरेको ठहरिन्थ्यो । दसैँ मानेको प्रमाणस्वरूप लिम्बुहरूले बलि दिइएका पशुको रगतको पञ्जाछाप भित्तामा राख्नुपथ्र्यो । सरकारी बडाहाकिमहरू निरीक्षणका बेला आउँदा देखाउन यस्तो चलन चलाइएको थियो ।
राज्य पुनर्संरचनाको आवाजसँगै हिन्दू चाडपर्व र संस्कृतिको पुनव्र्याख्याका आवाज उठ्न थालेका छन् । जातीय सांस्कृतिक चेतसँगै झन्डै डेढ दशकदेखि कतिपय जनजाति र दलितले दसैँ बहिस्कार गरेका छन् । तथापि धर्मनिरपेक्ष घोषित राज्यले दसैँलाई सबैभन्दा ठूलो राष्ट्रिय चाडको मान्यता दिएकैले यो झन्झन् व्यापक हुँदैछ । कर्मचारीले दोहोरो तलबसहित लामो बिदा पाउँछन् । सशस्त्र समूहले युद्धविराम घोषणा गर्छन् । धर्मलाई अफिम मान्ने कम्युनिस्ट पार्टी माओवादीले पनि जंगलमा छँदा यही गथ्र्यो । रोजगारका क्रममा देश, विदेशका विभिन्न ठाउँमा पुगेका व्यक्ति घर फर्कन्छन् । पत्रपत्रिकाले पनि साहित्यिक सामग्रीसाथ दसैँ दोहोरो अंक छाप्छन् ।
फेसबुक, इमेल र मोबाइलका इनबक्समा दुर्गा भवानीको जयगान गरिएका शुभकामना सन्देशहरू ओइरिन्छन् । कति साहित्यकार, फिल्मकार यही ‘साइत’मा नयाँ कृति शुभारम्भ गर्ने सुरमा हुन्छन् । यही ‘साइत’मा प्रेमी–प्रेमिका हरिभक्त कटवालको गीत ‘तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ’ शैलीमा नयाँ चरणमा प्रवेश गर्न चाहन्छन् । अर्थात् सबैसबै उल्लासमय मुद्रामा हुन्छन् । इतिहासमा ‘कल्चरल हेजिमोनी’ का रूपमा आएको दसैँ अब सबैको चाड भएको छ ।
दसैँको लामो बिदाका लागि पाठकलाई म केही सिनेमा सिफारिस गर्न चाहन्छु । थोरै भए पनि यिनले दसैँ–तिहार बिदाको सदुपयोग गर्न सघाउँछन् ।
नुमाफुङ: निर्देशक नवीन सुब्बाले अत्यन्त परिश्रम गरी बनाएको नुमाफुङलाई सर्वश्रेष्ठ नेपाली सिनेमा मान्न सकिन्छ । मुम्बईबाट लुसुक्क काठमाडौँमा बास बस्न आएका यात्रीजस्ता औसत नेपाली सिनेमाबाट पूरै पृथक् यस चलचित्रमा लिम्बू जनजीवन र संस्कृतिको चोखो कथा छ । यसमा संस्कृतिका नाममा मौलाएको विकृतिले एउटी नारीको जीवनमा पारेको असर र विद्रोहको मार्मिक कथा छ । अति भएपछि विद्रोह हुन्छ । विद्रोहले सबैको भलो गर्छ भन्ने छैन । नुमाको विद्रोहले पनि घर र माइती दुवैलाई नकारात्मक असर पार्छ । तर, त्यो नारी अस्मितामाथि गरिएको खेलवाडको परिणाम र उसको स्वाधीनताको खोजी हो । काठमाडौँमा यसको डीभीडी सजिलै किन्न पाइन्छ ।
वासुदेव: निर्देशक नीर शाहले बनाएको यो चलचित्र धु्रवचन्द्र गौतमको प्रसिद्ध उपन्यास ‘कट्टेल सरको चोटपटक’ मा आधारित छ । सिनेमाको अन्त्य उपन्यासभन्दा अलि भिन्न छ । त्यसको पटकथा उपन्यासकार गौतम स्वयंसँग मिलेर नीर शाहले तयार पारेका थिए । सामान्य व्यावसायिक सूत्रलाई भुल्ने हो भने यो सबैभन्दा प्रभावशाली नेपाली चलचित्र हो । मध्यमवर्गीय एक प्राध्यापकले भोग्नुपरेको जीवनदशाको गम्भीर कथाले दर्शकलाई रन्थनाइरहन्छ । चलचित्रको अन्त्यमा कुनै मन्दिरमा हृदयाघात भएर नायकको निधन भएको दृश्यको पृष्ठभूमिमा बज्ने महाकविको गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’को प्रभाव अनुपम छ ।
कर्मा: छिरिङ रितार शेर्पाको यो चलचित्र मानवीय उदार हृदयको महान् कथा हो । मुस्ताङबाट पोखरा, काठमाडौँ र भैरहवासम्म कर्मा नामकी भिक्षुणीको यात्रा चलचित्रको विषय हो । ऊ गुम्बाको ऋण उठाउन हिँडेकी हुन्छे । ऋणी सोनाम टासी प्रेममा असफल भएपछि समाजबाट विस्थापित महिला, अवला, तिनबाट जन्मेका परित्यक्त बालकलाई शरण दिने क्रिस्चियन संस्था चलाएर बसेको रहेछ । टासीले लिएको ऋण कर्मालाई फिर्ता गरिन्छ । पैसा लिएर फर्कँदै गर्दा कर्माभित्र विचारको हुन्डरी चल्छ । आत्मिक विकास कि समाज सेवा ? कुनचाहिँ महत्वपूर्ण छ ? ऊ समाज सेवाको पक्षमा उभिन्छे । बौद्ध भिक्षुणी कर्मा इसाई संस्थालाई विश्वास गरेर ठूलो रकम फिर्ता गर्छे । धार्मिक संस्था केही होइन रहेछ । मुख्य कुरा मानव सेवा रहेछ । पक्कै त्यो महान् हृदयको परिचय हो । अब उसलाई गुम्बा प्रमुख हुने लोभ छैन । मानवीय हितका काम गर्ने तरिका अनेक रहेछन् ।
बरान: इरानका निर्देशक मजिद मजिदीको यो चलचित्र मौन प्रेमकथा हो । मजिदी खासगरी ‘चिल्ड्रेन अफ हेभन’ का लागि संसारभरि चिनिन्छन् । तर, त्यसमा डेसिकाको ‘द बाइसाइकल थिभ्स’को ठाडो प्रभाव छ । फादर, कलर अफ प्याराडाइज र सङ अफ स्पारो उनका अन्य प्रसिद्ध चलचित्र हुन् । बरानमा भने अफगानिस्तानबाट इरानमा गैरकानुनी तरिकाले काम गर्न छिरेका शरणार्थीको कथा छ । एउटा निर्माण कम्पनीमा काम गर्ने लतिफ अफगानी शरणार्थी किशोरी बरानको प्रेम अनेक समर्पण गर्छ । चलचित्रभरि बरान एउटै संवाद बोल्दिनँ तथापि पूरै चलचित्रको आकर्षण केन्द्र उही छे ।
रशोमन: जापानका विश्वप्रसिद्ध निर्देशक अकिरा कुरुसावाले सन् १९५० मा बनाएको ‘रशोमन’ विश्वसिनेमाकै अनुपम कृति मानिन्छ । रियुनोसुके अकुतागावाको कथामा आधारित ‘रशोमन’ मा एक रहस्मय मृत्युको कथा छ । ताजोमरु नामको कुख्यात डाँकु एउटी राम्री आइमाईलाई उसकै लोग्नेसामु बलात्कार गर्छ । लोग्नेलाई उसले पाता फर्काएर राखेको हुन्छ । त्यसपछि चलचित्र अत्यन्तै रहस्यमय मोडमा पुग्छ । घटनामा लोग्नेचाहिँको मृत्यु हुन्छ । प्रहरी कार्यालयमा डाँकु तरबार युद्धमा आफूले मारेको वयान दिन्छ । बलात्कृत आइमाई ‘आफ्नै स्वास्नीको सुरक्षा गर्न नसक्ने लोग्नेलाई बाँच्ने अधिकार छैन’ भनी आफूले हत्या गरेको बताउँछे । मृतकको आत्मा भने स्वास्नी बलात्कृत भएको दृश्य मौन बसेर हेर्नुपरेकामा आफैँलाई धिक्कार्दै हाराकिरी (आत्महत्या) गरेको बयान दिन्छ । अचम्म त के हुन्छ भने तीनै जना आफ्ना बयानमा उत्तिकै पत्यारिला लाग्छन् । सबैभन्दा ठूलो कुरा, यो जापानी जनताको उँचो स्वाभिमानको कथा हो । यति तृप्तिदायक सिनेमा संसारमा कमैमात्र बनेका छन् ।
द बाइसाइकल थिभ्स: सन् १९४९ मा इटालीमा बनेको यस चलचित्रलाई समीक्षकहरू विश्वका उत्कृष्ट दस चलचित्रको सूचीमा राख्छन् । निर्देशक भितोरियो डेसिकाले यसमा दोस्रो विश्वयुद्धपछि इटालीका सर्वसाधारणको दिनचर्याको अत्यन्त मार्मिक मानवीय कथा उतारेका छन् । यस धारालाई चलचित्रमा नवययथार्थवाद भनियो जसको लहर चाँडै नै विश्वव्यापी भयो । यसमा यसमा साइकलकै कारण रोजगार पाएको एक अद्वैँसेको कथा छ जसको साइकल चोरीसँगै जागिर खोसिने चेतावनी दिइन्छ । चोरी भएको साइकल नभेटिएपछि ऊ पनि कसैको साइकल चोरी गर्छ तर समातिन्छ ।
अर्थ: भारतीय निर्देशक महेश भट्टको चलचित्र ‘अर्थ’ले नारी–पुरुषबीच परम्परागत पूर्वीय सम्बन्धलाई ठूलै धक्का दिन्छ । पति इन्दरले धोका दिएपछि नारी स्वाभिमान बोकेर हिँडेकी पूजा मलहोत्राको असीम संघर्षको कथा यसमा छ । असमान सम्बन्धबीच प्रेम टिक्न सक्दैन । यही आत्मबोध गरेर पूजा सम्झौता गर्न आएको पूर्वपतिलाई अस्वीकार गर्छे । प्रेम गर्ने क्षमता भए बच्चा नजन्माई आमाको सुख प्राप्त गर्न सकिन्छ । ऊ अनाथ बालिकालाई आमाको माया दिन्छे । भारतीय नारी आन्दोलनमा तरंग ल्याएको यस चलचित्रबाट शबाना आजमीले सन् १९८३ को सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । इन्डिया टुडेको ‘हेर्नैपर्ने भारतका २५ चलचित्र’ को सूचीमा यो चलचित्र पनि परेको थियो ।
यीबाहेक मिर्च मसाला, युवा, वाटर, सारांश, आक्रोश, पार, चाँदनीबार, वेलकम टु सज्जनपुर, सिद्धार्थ, माई लेफ्ट फुट, द ब्वाई इन द स्ट्रिप्ड पाइजामा, द पियानिस्ट, क्वीन, रावण, रान्झना, हाई वे जस्ता उपलब्ध कुनै पनि सिनेमा हेर्दा समय खेर जाँदैन ।














प्रतिक्रिया