काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका १३ औं महाधिवेन कहिले हुन्छ, टुंगो छैन । तर उक्त महाधिवेशनलाई लक्षित गर्दै शक्ति सञ्चयको काम तीव्र गतिमा बढिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला पक्षधर र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष आआफ्नो पक्षमा शक्ति सञ्चय गर्न जोडतोडले लागेका छन् ।
समाचार स्रोतहरूका अनुसार अहिले कांग्रेसमा घर सर्ने (समूह बदल्ने) महामारी नै फैलिएको छ । कोइराला पक्षका नेतालाई देउवाले धमाधम तानिरहेका छन् भने देउवाका हस्ती भनेर चिनिएका नेताहरूलाई कोइराला पक्षले आफ्नो बनाइरहेको छ । यो अवधिमा प्रभावशाली नेताहरूले नै घर सारिसकेका छन् । संस्थापन पक्षको एउटा ठूलो हिस्सा कोइरालालाई छाडेर देउवा समूहमा प्रवेश गरेको छ । ‘१२ औं महाधिवेशनमा खुलेरै कोइरालालाई सघाइयो, सभापतिमा जितेपछि हामीलाई वास्तै गरेनन् । फेरि संसदीय दलको चुनावमा पनि जसरीतसरी जिताइयो, मन्त्री त अरुलाई पो बनाए ।’ कोइरालालाई गुन नदेख्ने नेताको संज्ञा दिँदै हालै देउवा क्याम्पमा छिरेका नेताले भने, ‘अब पनि कोइरालाकै पछि लागिरहने हो भने कांग्रेसमा हाम्रो भविष्य देखिएन । त्यसैले छाड्ने मनस्थिति बनाइयो ।’
कोइरालालाई छाडेर देउवा नजिक पुगेका नेताहरूमा अर्जुननरसिंह केसीदेखि बलबहादुर केसीसम्मका हस्ती छन् । देउवा समूह छाडेर पाँच वर्षअघि कोइराला समूहमा प्रवेश गरेका केसीले पाँच वर्षमा कोइरालाले माखो नमारेको भन्दै सबैभन्दा बढी असन्तुष्ट बनेका छन् । १२ औं महाधिवेशनताका देउवालाई छाडेर गल्ती गरिएको महसुस गरेका केसीले अब गल्ती सुधार्न देउवाकै क्याम्प छिर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
संस्थापन पक्षका हस्ती मानिने वनमन्त्री महेश आचार्य पनि सभापति कोइरालासँग असन्तुष्ट बनेका छन् । संस्थापन पक्षका गोविन्दराज जोशीसमेत पछिल्ला दिनमा देउवासँग नजिकिएका छन् । कोइरालालाई त्यागी नसके पनि दीलेन्द्रप्रसाद बडू पनि निक्कै रुष्ट बनेका छन् । पटकपटक सभासद् बनाउने आश्वासन दिएर २६ मा मनोनयन नगरेको, त्यसपछि पनि बिनाविभागीय मन्त्री बनाउने आश्वासन दिएर धोका दिएको भन्दै बडू असन्तुष्ट बनेका हुन् । २६ मा मनोनयन गर्न नसकेपछि कोइरालाले बडूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेर मन्त्री बनाउने आश्वासन दिएका थिए । तर उक्त आश्वासन पूरा नगरी कोइराला अमेरिका हानिएपछि बडूले चित्त दुखाएका छन् । सुदुरपश्चिमका हस्ती मानिने पुष्करनाथ ओझाले त संस्थापन पक्ष छाडेर देउवा पक्ष समाइसकेका छन् । यसैगरी पूर्वसभामुख तारानाथ रानाभाट, नेपाल तरुण दलका पूर्वअध्यक्ष महादेव गुरुङ, पूर्वमहामन्त्री पुष्प पराजुली, नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा लगायतका दर्जनौं हस्ती संस्थापन पक्ष छाडेर देउवा निकट पुगेका छन् । ‘१३ औं महाधिवेशन आउन अझै धेरै बाँकी छ, अहिले नै केही नभनौं,’ कोइरालालाई त्यागेका एक केन्द्रीय सदस्यले भने, ‘परिस्थितिले कोइरालाबाट देउवातर्फ पुर्यायो भनेर सम्झिनुस् ।’
संस्थापन पक्षको यो अवस्था हुँदा देउवा पक्षका पनि धेरै नेताले उनलाई छाडेर संस्थापन रोजेका छन् । समूह परिर्वतनको मनस्थिति संस्थापन पक्षभन्दा देउवा पक्षमा बढी देखिएको छ । चार वर्षअघि सम्पन्न १२ औं महाधिवेशनमा जुन–जुन प्रभावशाली नेताहरू देउवा पक्षमा थिए, उनीहरू अहिले संस्थापन पक्षतिर नजिकिएका छन् । देउवा पक्षको हस्ती मानिएका डा. मीनेन्द्र रिजाल केही अघिदेखि नै संस्थापन पक्षका खुलेर लागेका छन् । देउवा छाडेर आफ्नो कोठरीमा आएपछि कोइरालाले रिजाललाई पार्टीको प्रचारप्रसार विभागकै प्रमुख बनाए । त्यसले पनि नपुगेर कोइरालाले आफू नेतृत्वको सरकारमा रिजाललाई सूचना तथा संचारमन्त्रीको जिम्मेवारी दिएका छन् ।
१२ औं महाधिवेशनमा देउवालाई राम्रो साथ दिएका र पार्टीभित्र राम्रो पकड बनाएका खुमबहादुर खड्का यतिबेला देउवासँग असन्तुष्ट छन् । मन्त्रिपरिषद् गठनमा दुईवटा मन्त्रीको कोटा पाएका, सहमहामन्त्रीमा समेत आफ्नो मान्छे राख्न सफल भएका खड्का देउवासँग असन्तुष्ट हुनुको कारण खुल्न सकेको छैन । एक नेताले देउवा निवासमा बढ्दै गएको विमलेन्द्र निधिको निर्णायक भूमिकाका कारण खड्का असन्तुष्ट बनेको बताए । खड्का असन्तुष्ट रहेकाले उनी निकट सभासद् रामहरि खतिवडा, शंकार भण्डारी लगायतका युवा नेताहरू देउवा कहाँ जान छाडेको महिनौं बितेको छ ।
पार्टी विभिजन हुँदा तीन वर्ष कार्यबाहक सभापतिका रुपमा देउवालाई ठूलै साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि देउवासँग रुष्ट भएका छन् । यति लामो समयसम्म पनि भूमिका नपाएकाले श्रेष्ठ रुष्ट भएको स्रोतको भनाइ छ । देउवा पक्षका लागि प्राप्त ४० प्रतिशतको भागबण्डामा आफ्नो हिस्सेदारी कति भन्ने प्रश्न श्रेष्ठले उठाइसकेका छन् । प्रत्यक्ष तथा समानुपातिकमा टिकट वितरणदेखि लिएर मन्त्रिपरिषद्को गठनमा समेत देउवाले वास्ता नगरेका कारण रुष्ट भएका श्रेष्ठ तत्काल संस्थापन पक्षमा जानेभन्दा पनि आफ्नो उपसमूहलाई बलियो बनाउने रणनीतिमा छन् ।
यता खुमबहादुरको सिफारीसमा पूर्णबहादुर खड्कालाई सहमहामन्त्री बनाइएकै कारण देउवासँग बालकृष्ण खाँडसमेत रुष्ट बनेका छन् । संस्थापन पक्षबाट कुनै भूमिका दिइए देउवाको साथ छाड्न मनस्थितिमा खाँड रहेको समाचार स्रोतले जनाएको छ । यसैगरी देउवा पक्षका हस्ती विद्यार्थी नेता कल्याण गुरुङ संस्थापनको तर्फबाट आमन्त्रित केन्द्रीय सदस्य बनेका छन् ।
















प्रतिक्रिया