काठमाडौं, २५ चैत । मेलम्ची खानेपानी आयोजनाले हाल उपत्यकामा पाइप गाड्ने कार्य जारी राखे पनि अवैज्ञानिक रहेको सरोकारवालाले बताउन थालेका छन् ।
आयोजनाले मूल सडकका बीच भागमै पाइप गाडेकाले अवैज्ञानिक भन्न थालिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उपत्यकामा मेट्रो वा स्काई रेलको अवधारणा अगाडि आइरहेका बेला मेलम्चीले सडकको बीच भागमै पाइप गाडेकाले त्यसले अवरोध ल्याउने बुझाइ सरकारको छ ।
सडक विभाग काठमाडौंले अयोजनालाई पाइप सार्न पत्राचार गरेको छ । स्रोतका अनुसार स्काई वा मेट्रो रेल सञ्चालन गर्नुपरेमा सडकको बीच भागमै पिलर राख्नुपर्ने भएकाले मेलम्ची खानेपानी आयोजनाको पाइप बाधक बन्ने ठहर सडक विभागको छ ।
मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ ।आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटरभन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको छ ।
सडक विभाग कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले मेलम्ची खानेपानी आयोजनाको काम नसकी सडक कालोपत्रे नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच सय किलोमिटर सडकमध्ये ५० किलोमिटर मात्रै हाम्रो जिम्मेवारी हो, बाँकी आयोजनाकै भागमा पर्छ, जबसम्म मेलम्चीको कामले पूर्णता पाउँदैन तबसम्म बाटो स्थायी रूपमा कालोपत्रे हुँदैन ।’












प्रतिक्रिया