२८ आश्विन २०८३, बुधबार

बरियता विवादबारे यसो भन्छन् कमल थापा (विशेष अन्तर्वार्ता)

11.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीचको मर्यादाक्रम विवादका कारण यसअघिसम्म मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन । यद्यपी आज बैठक बस्दैछ । मर्यादाक्रममा अल्झेको सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने जिम्मेवारी पनि छ । मधेशी मोर्चालाई सहमतिमा ल्याउने चुनौति र निर्वाचन गर्ने बचनलाई यसले केही प्रभावित पार्न खोजिरहेको छ । यसै विषयमा बीबीसी नेपाली सेवाले मर्यादाक्रममा विवादका कारक बनेका कमल थापासंग कुराकानी गरेको छः

– अब बस्ने मन्त्रिपरिषदको बैठकमा तपाईको आशनको ठेगान लाग्यो त ?

मलाई लाग्छ, त्यसमा त कुनै विवाद नै छैन् । यो भन्दा अगाडिको क्याविनेटको बैठकमै टुंगो लागिसकेको कुरा हो । कसले कुन ठाउँ बस्ने भन्ने पहिले नै निश्चित छ ।

– तर, तपाई उपप्रधानमन्त्री निधि भारत गएको बेलामा उनको आशनमा बसको होइन र भन्या ?

स्कुल, कलेजहरुका विद्यार्थीहरुले बेन्चमा बसेजस्तो जो मन लाग्यो त्यहि बस्न पाइने होइन । प्रधानमन्त्रीको निर्णय, त्यसको साथसाथै स्थापित मान्यताको आधारमा उपप्रधानमन्त्रीको वरियताक्रम निर्धारण हुन्छ र त्यसकै आधारमा सिटमा नाम लेखिन्छ र त्यसमा गएर बस्नुपर्छ ।

– त्यसो भए दोस्रो मर्यादाक्रम पाउनेगरि प्रधानन्त्रीले तपाईलाई बचन दिएकै हो त तपाईलाई ?

यसमा बचनको पनि कुरा छैन । यद्यपि बचनको कुराहरु पनि भएको छ । त्यो महत्वपूर्ण कुरा होइन ।

– होइन, विमानस्थलमा कतिपयको शब्दमा भन्ने हो भने जधाशाही जस्तै भएन अस्ती प्रधानमन्त्री चीनबाट फर्किदा ?

मैले कुनै विवाद गरेको छु र ?

– तपाईले होइन, तर मर्यादाक्रममा विवाद भएको कुरा झल्किने गरि त आयो नि होइन र ?

होइन मैले अहिलेसम्म कुनै विवाद पनि गरेको छैन । कुनै टिकाटिप्पणी गरेको पनि छैन । यो कुनै विवादको विषय पनि होइन । स्थापित मान्यता, मापदण्डहरु छन्, त्यसअनुसार निर्णय हुने कुरा हो ।

– भनेपछि तपाई दोस्रो हाइन्, तेस्रो, चौथोमा पनि बस्न तयार हुनुहुन्छ ?

अब स्थापित मान्यता जे छ त्योअनुसार हुने कुरा न हो । निर्णय भईनै सकेको छ । मिडियाले जति चर्चाको विषयमा बनाएपनि यसमा कुनै विवाद नै छैन ।

– विवादकै कारण यत्रो दिनसम्म मन्त्रिपरिषदको विवाद बसेको छैन, होइन र ?

म तपाईलाई के निवेदन गरौं भने बीबीसी जस्तो एक आमसञ्चार माध्यमले यस्तो हल्काफुल्का विषयमा चर्चापरिचर्चा गरिरहनु आवश्यक छैन । त्यो भोलिपर्सीको दिनमा तपाईहरु देखिहाल्नु हुन्छ नि ।

– होइन, तपाईले स्थापित मान्यताको कुरा गर्नुभएको छ, तपाई कुन स्थापित मान्यताको आधारमा दोस्रो बरियताक्रमको दावी गर्नुहुन्छ ?

त्यो तपाईहरु आफू भन्नुहोस् न । सबैभन्दा पहिले को मन्त्री, उपप्रधामन्त्री भएको हो । को एउटा पार्टीको अध्यक्ष हो । यो कुरा तपाईलाई मैले भनिराख्नुपर्दैन ।

– त्यो आधारमा तपाई भन्दा पहिले कृष्णबहादुर महरा होइनन्, तपाई भन्दा पहिले उपप्रधानमन्त्री भएको ?

मैले अघि पनि भने यो एउटा निरर्थक विषयमा किन बहस गर्नुहुन्छ ?

– होइन, यसै विषयले सरकारको कामकार्वाहीमा पनि असर गर्यो, त्यसैले गर्दा मान्छेले थाहा पाउनुपर्यो नि यो के हो विवाद भनेर ?

होइन् कुनै विवाद छैन । यस विषयलाई चर्चाको विषय बनाएकोमा मलाई ठीक लागेन ।

– तपाईले त्यसो भने पनि निधिले आफू दोस्रो बरियता नपाएमा राजीनामा दिने चेतावनी पनि दिनुभएको छ । तपाईले एमाले अध्यक्ष केपी ओलीसंग भेट्नु भएको छ । त्यसमा काँग्रेस र माओबादी केन्द्रबीचको फाटो आउने सम्भावनाका बारेमा केही कुराहरु भएको थियो कि ?

नेपाली काँग्रेसको कुरा मैले भन्नु उपयुक्त हुँदैन । हिजो एमाले अध्यक्ष केपी ओली जिसंग भएको कुरा हो । काँग्रेस सभापति शेरबहादुर देउवा जिसंग पनि भेट भएको छ । स्वभाविक रुपमा समसामयिक परिस्थितिका बारेमा विचार विमर्शहरु हुन्छ । खासगरि स्थानीय तहको सुनिश्चितागत विषयमा केन्द्रीर रहेर हामीले कुरा गर्यौं । त्यसको साथसाथै आगामी चुनावमा पार्टीहरुकाबीचमा तालमेल मिलाएर जान सकिने विषयमा कुरा गरेको हौं ।

– देउवासंग कुरा गर्दा गरि अहिले देखिएको उपप्रधानमन्त्रीको विवाद कसरी सुल्झाउने भन्ने बारेमा केही कुरा भयो ?

भएन । त्यहाँसम्म त मैले समस्या देखेको छैन । तपाईले ठूलो समस्या देखिरहनुभएको छ ।

– हो र ?

मलाई त्यसबारेमा कसैले केही भनेकै छैन ।

– प्रधानमन्त्रीले अस्तीको अन्तरवार्तामा सकेसम्म दुई जना मिल्नुहोला । यदि मिल्न सकेन भने म एउटा निर्णय लिन्छु भनेका थिए । यदि प्रधानमन्त्रीले तेस्रो विकल्पमा गएर महरालाई दोस्रो बरियतामा राखे तपाईलाई स्वीकार्य हुन्छ कि हुँदैन त्यो बेला ?

होइन, म फेरि पनि तपाई कतिपल्ट भनौं । हेर्नुहोस् यो विषय त्यति महत्वपूर्ण विषय होइन । यसमा चर्चा परिचर्चा गरेर समय किन खेर फाल्ने ? म तपाईलाई चाहिने के निवनेद गर्न चाहन्छु भने अब हामी चुनावलाई कसरी सफताका साथ सम्पन्न गर्ने भन्ने बारेमा ध्यान केन्द्रीत गर्न उपयुक्त हुन्छ ।

– त्यहि त मन्त्रिपरिषदको बैठक बस्न नसकेर एजेन्डाको चाङ लागिसकेको छ । भनेपछि सरकारले चुनाव गराउन सक्ला ?

कुनै आशंका र दुविधा लिनुपर्ने स्थिति छैन । आजको दिनसम्म बैशाख ३१ गते चुनाव हुने सुनिश्चित छु जनतालाई पनि सुनिश्चित हुनको निमित्त आग्रह गर्छु ।