काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंक तथा वित्तीय क्षेत्रमा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मध्यपश्चिमाञ्चलको नेपालगन्ज र पश्चिमाञ्चलको पोखरामा स्थापना भई क्षेत्रीय बैंकका रुपमा कारोबार गर्दै आएका बागेश्वरी विकास बैंक र साङ्ग्रिला विकास बैंक एकापसमा गाभिएर साङ्ग्रिला विकास बैंकले कारोबार सुरु गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बैंक तथा वित्तीय क्षेत्रको स्वास्थ्य सबल तुल्याउन केन्द्रीय बैंक लागिपरेको दोहो¥याउँदै गभर्नर खतिवडाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सुशासन कायम गर्दै मुलुकको आर्थिक विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।
उहाँले ब्याजदर घटाउनेतर्फ नलाग्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सुझाव दिँदै दुर्गम भेगमा समेत सेवा विस्तार गर्न अनुरोध गर्नुभयो । गभर्नरले भन्नुभयो, “उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्नुहोस् ।”
बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बैंकले गत असार मसान्तसम्ममा रु छ अर्ब ४५ करोड निक्षेप सङ्कलन र रु पाँच अर्ब २१ करोड कर्जा लगानी गरेको जानकारी दिनुभयो ।
बैंकमा करिब एक लाख २० ग्राहक छन् भने देशका २५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।













प्रतिक्रिया